npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

विदेशबाट फर्किएका भीम, घुम्तीगोठले बनाए आत्मनिर्भर

नेपालन्युज 1 hour ago

म्याग्दी । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्‍यो ।

तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घर व्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निराश भए पनि हिम्मत हारेनन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रा पालन गर्ने सोच पलायो । आठ वर्षअघि सुरु गरेको घुम्ती गोठमा बाख्रा पालन व्यवसायले उनलाई स्वरोजगारका साथै आत्मनिर्भर बनाएको हो ।

‘विदेशबाट फर्किनुपर्दा घर व्यवहार चलाउने खर्च कसरी जुटाउने भनेर पिरोलिएको थिएँ,’ उनले भने, ‘घुम्ती गोठमा बाख्रा पालन सुरु गरेपछि रोजगारी र घर व्यवहार चलाउनकै लागि पैसा कमाउन विदेश नै जानुपर्दो रहनेछ भन्ने महसुस भयो ।’

भीमले बुबा लालबहादुर भण्डारीले पिता पुर्खाको पालादेखि नै गर्दै आएको बाख्रा पाल्ने पेसालाई व्यवस्थित गरेर निरन्तरता दिएका हुन् । ५० वटाबाट सुरु भएको भीमको गोठमा हाल एक सय ५० स्थानीय खरी जातका बाख्रा छन् । उनलाई बाख्रा पालनमा श्रीमती बिपनाले साथ दिएकी छन् ।

 

वार्षिक १५ देखि २० वटा खसीबोका र त्यति नै सङ्ख्यामा पाठा पाथी तथा माउ बाख्रा बिक्री गर्ने भण्डारी दम्पती बाख्रा पालनबाट सन्तुष्ट छन् । ‘गोठमा बाख्राको सङ्ख्या धेरै हुँदा दुई सय वटासम्म पुगेको थियो,’ बिपनाले भनिन्, ‘अर्काको देशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने आत्मनिर्भर भइने रहेछ ।’

अग्ला र धेरै तौल हुने खरी स्थानीय जातको बाख्रा हो । औसतमा एक बेतमा एकवटा पाठापाठी जन्माउने खरीका खसी दुई वर्ष पालेपछि प्रतिगोटा २० हजार रुपैयाँमा बिक्री हुने बिपनाले बताइन् । धेरै सङ्ख्यामा दानापानी र घाँस पुर्‍याउन नसकिने हुँदा ग्रामीण क्षेत्रका किसानले घुम्ती गोठमा बाख्रा पालन गर्छन् ।

कात्तिकमा बेँसी झरेका भण्डारी दम्पतीका बाख्रा गोठ हिजोआज फलीगाउँको फेदीमा रहेको हुचिनमा छ । चिसो हुने भएकाले हुचिनभन्दा अझ न्यानो र बेँसी सोलवाङमा गोठ राखिएको थियो । वैशाखको अन्तिम साता चरनका लागि बाख्रा गोठ ढोरपाटन लैजाने उनीहरूको योजना छ ।

जेठ, असार र साउनमा गुर्जाघाट चर्ने बाख्रा भदौ र असोजमा त्यो भन्दा माथिको बुकी अनेरीमा पुग्छन् । किसानले पशुका लागि आवश्यक पर्ने पोषिलो आहारा पाइने चरन क्षेत्रलाई बुकी भन्छन् । त्रिपालको टहरामा रात कटाउने उनीहरूले बाख्राको सुरक्षाका लागि पाँच वटा कुकुर पालेका छन् ।

कुकुरले चितुवालगायत जङ्गली जनावरको गतिविधिलाई निगरानी गर्ने, बाख्रालाई बचाउने, भुकेर सूचना दिने र कतिपय अवस्थामा जङ्गली जनावरसँग भिडेर भगाई सहयोग गर्ने बिपनाले सुनाइन् । आफ्नै नाममा जग्गा जमिन नहुँदा व्यवसाय दर्ता गर्न नपाएका उनीहरूले बाख्रा पालनलाई नै निरन्तरता दिने र जीविकोपार्जनको माध्यम बनाउने बताएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अभियानकै रूपमा महामारीजन्य रोग पिपिआरविरुद्धको खोप र धवलागिरि गाउँपालिकाले प्राविधिक सेवा, त्रिपाल र सौर्य ऊर्जा सहयोग गरेको छ । महामारीबाहेकको अवस्थामा पनि बाख्राको औषधि उपचार नि:शुल्क गर्ने र पशु बीमाका लागि सहजीकरण गरिदिन भण्डारी दम्पतीले राज्यका निकायसँग अनुरोध गरेका छन् ।

Read more news from नेपाल न्युज

Explore by Source or Category