npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

हिमपात भएपछि मनाङमा केही मतदान केन्द्रको अनुगमन हुन सकेन

नेपालन्युज 5 hours ago

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन नै हुनसकेको छैन ।

यहाँ फरक समयमा हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको जानकारी दिए ।

उनले भने, ‘भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ । समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन गरिएको छ । चामे र नासोँ गाउँपालिकाकामा रहेका मतदान केन्द्रको यसअघि नै अनुगमन भए पनि नार्पाभूमिका केन्द्रमा पुग्न सकिएको छैन ।’

मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ । नार्पाभूमि गाउँपालिकाका वडा नं १ देखि ३ सम्म नार क्षेत्रमा तीन, वडा नं ४ र ५ को फू क्षेत्रमा दुई गरी पाँच वटा मतदान केन्द्र छन् ।

यहाँ आउजाउ गर्न समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा पनि स्थानीय पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

नार्पाभूमि गाउँपालिकामा ४ सय ८८ मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएका र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयामा छलफल भइरहेको बताए ।

जिल्लामा तीन हजार ६ सय २३ महिला र तीन हजार ३ सय ७७ पुरुष गरी सात हजार मतदाता छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा छ हजार ७ सय ७९ मतदाता रहेकामा यसपटक २ सय २१ मतदाता थपिएका हुन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।

Read more news from नेपाल न्युज

Explore by Source or Category