npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

इन्द्र कमल रोक्का 15 hours ago

भक्तपुर। भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।

परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा दर्ता भएका उल्लेख गरे। उनका अनुसार आठ वटा लागुऔषधसम्बन्धी, चार वटा जबर्जस्ती करणी, दुई वटा मानव बेचबिखनका घटना भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगसम्बन्धी अपराधका घटना बढी देखिएका उनले बताए ।

त्यस्तै, जिल्लामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी भएका जानकारी दिँदै परिसरका सूचना अधिकारी जवेजुले मङ्सिरमा ७१ वटा आर्थिक अपराधका घटनाअन्तर्गत बैंकिङ कसुरसम्बन्धी ६७ मुद्दा परेका बताए । सार्वजनिक चासो रहेको कर्तव्य ज्यानका दुई वटा मुद्दाको सफल अनुसन्धान गरेको, फैसला कार्यान्वयनबाट ३७ जना पक्राउ गरी रु ३८ लाख १३ हजार ८०० जरिवाना भराएको उनले बताए ।

सूचना अधिकारी जवेजुले निजहरूलाई सात वर्ष छ महिना १६ दिनको कैद सजायको फैसला गरिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ परेका ४९ मध्ये ३३ वटा मुद्दामा मिलापत्र र १६ वटाको काम बाँकी रहेको जानकारी दिए । सूचना अधिकारी जवेजुका अनुसार १८ देखि ४० वर्षसम्मका ३३, ४० देखि ६० वर्षसम्मका निवेदनमा १६ जना पीडित छन् भने पीडकको उमेर समूहका आधारमा तथ्याङ्क विश्लेषण गर्दा १८ देखि ४० वर्षका ३६ जना र ४० देखि ६० वर्षसम्मका २० जना रहेका छन् ।

मङ्सिर महिनामा आठ जना महिला हराएकामध्ये छ जना फेला पारेका छन् भने सात जना पुरुष हराएकामध्ये पाँच जना फेला, ११ जना हराएका बालिकामध्ये सबै फेला पारेका छन् । घरेलु हिंसामा श्रीमान् श्रीमतीको झगडाका २० वटा उजुरी परेकामा हालसम्म ११ वटाको मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

ठाडो उजुरीतर्फ २०१ दर्ता भएकामा १६७ फछ्र्यौट भएका भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका उजुरीको सङ्ख्या ४४ रहेकामा ४० फछ्र्यौट भएको जनाएको हो । लागुऔषधका आठ घटनामा १२ जना पक्राउ परेका जनाउँदै प्रहरी नायब उपरीक्षक जेवेजुले विभिन्न लागुऔषधसमेत बरामद गरिएको बताए । जिल्ला प्रहरी कार्यालय भक्तपुरले मङ्सिरमा पाँच वटा आत्महत्याका घटना भएको पुष्टि गरेको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category