नेपालले सम्हाल्यो सार्क चेम्बर अफ कमर्सको नेतृत्व, ढकालद्वारा औपचारिक पदभार ग्रहण
काठमाडाैं । नेपाली उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष चण्डीराज ढकालले सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १६औँ अध्यक्षका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पाकिस्तानको इस्लामावादमा अप्रिल १९, २०२६ मा आयोजित एक विशेष समारोहका बीच उनले नेतृत्व सम्हालेका हुन् ।
पाकिस्तान सरकारका संघीय रेल मन्त्री मुहम्मद हनिफ अब्बासीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा निवर्तमान अध्यक्ष मोहम्मद जसिम उद्दिन (बङ्गलादेश) ले नवनिर्वाचित अध्यक्ष ढकाललाई सार्क चेम्बरको झण्डा हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री अब्बासीले ढकाललाई आधिकारिक ‘सार्क चेम्बर क्रेस्ट’ समेत प्रदान गरे ।
आफ्नो उद्घाटन मन्तव्यमा नवनिर्वाचित अध्यक्ष ढकालले सार्क चेम्बरलाई केवल संवाद गर्ने निकायमा मात्र सीमित नराखी ठोस आर्थिक नतिजा निकाल्ने ‘एक्सन-ड्राइभन’ प्लेटफर्म बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले राजनीतिक चुनौतीका बाबजुद पनि निजी क्षेत्रको नेतृत्वमा क्षेत्रीय आर्थिक सहयोग र कनेक्टिभिटीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । “दक्षिण एसियाको समृद्धिका लागि व्यावसायिक कूटनीति र साझा विश्वास नै मुख्य आधार हुन्,” ढकालले भने ।

प्रमुख अतिथि मन्त्री अब्बासीले दक्षिण एसियाली देशहरूबीचको क्षेत्रीय एकीकरण विना यस क्षेत्रको उत्थान सम्भव नभएको बताए । उनले नेपालको नेतृत्वलाई पाकिस्तान सरकार र निजी क्षेत्रको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिँदै सार्कका आदर्शहरू प्रति पाकिस्तान सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।
समारोहमा भारत, श्रीलङ्का, माल्दिभ्स र नेपालका प्रतिष्ठित व्यावसायिक नेताहरूले भर्चुअल माध्यमबाट सहभागी भई नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए। सार्क चेम्बरका भारत च्याप्टरका उपाध्यक्ष विनोद जुनेजा र श्रीलङ्का च्याप्टरका उपाध्यक्ष डा. रोहिता सिल्भा लगायतले ढकालको गतिशील नेतृत्वमा निजी क्षेत्रको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गर ।
नेपालबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष हेमराज ढकाल, र अन्य कार्यसमिति सदस्यहरूको सहभागिताले नेपाली निजी क्षेत्रको बलियो उपस्थितिलाई दर्शाएको थियो। निवर्तमान अध्यक्ष मोहम्मद जसिम उद्दिनले आफ्नो कार्यकालमा इस्लामावादमा सार्क चेम्बरको मुख्यालय भवन निर्माण सम्पन्न हुनुलाई ठूलो उपलब्धिको रूपमा स्मरण गरे ।
कार्यक्रममा विशेष अतिथिका रूपमा पञ्जाब महिला संरक्षण प्राधिकरणकी अध्यक्ष हिना परवेज बटले दिगो विकासका लागि व्यापार र नेतृत्वमा महिलाको सहभागिता अनिवार्य रहेको धारणा राखे ।
हबिब बैंक लिमिटेडको प्रिमियम साझेदारीमा सम्पन्न यस कार्यक्रमले दक्षिण एसियामा ‘प्रतिस्पर्धाबाट सहकार्य’ र ‘संवादबाट परिणाम’ तर्फ अघि बढ्ने एउटा साझा सङ्कल्प पारित गरेको छ।