विकास आयोजना निर्माणमा रास्वपाले ‘मिसन मोड’ लागू गर्ने, ५ वर्षमा १० ठूला परियोजना
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विकास आयोजना निर्माणमा ‘मिसन मोड’ लागू गर्ने बताएको छ।
रास्वपाले बिहीबार चुनावी वाचा पत्रमार्फत सार्वजनिक आयोजना निर्माणमा ‘मिसन मोड’ लागू गर्नेदेखि ५ वर्षमा १० वटा नयाँ ठूला परियोजना ल्याउने बताएको हो।
‘सार्वजनिक आयोजनालाई स्पष्ट उद्देश्य, प्राथमिकता, सुनिश्चित बजेट, निश्चित समय सीमा, योग्य तथा पर्याप्त मानवीय स्रोत र परिणाममूलक लक्ष्यसहित लक्ष्य-केन्द्रित कार्यशैली (मिसन मोड)मा कार्यान्वयन गर्नेछौं। आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न, आयोजना सम्पन्न नभएसम्म प्रमुख तथा खटिएका कर्मचारीको सरुवा नगर्ने व्यवस्था गर्नेछौं,’ रास्वपाको वाचा पत्रमा भनिएको छ।
रास्वपाले विगत १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनालाई आगामी २ वर्षभित्र अनिवार्य रुपमा सम्पन्न गर्ने गरी ‘नतिजामुखी समयवद्ध कार्ययोजना’ लागू गर्ने वाचा पत्रमा उल्लेख गरेको छ।
यस्तै आयोजनामा हुने हरेक कामको ‘डिजिटल ट्र्याकिङ’ गर्ने व्यवस्था मिलाउने, आयोजना प्रमुखको कार्यसम्पादन सम्झौता, जग्गा प्राप्ति र वन क्षेत्रको अवरोध हटाउन विशेष कानुनी सहजता र मुआब्जा वितरणमा ‘डिजिटल ट्र्याकिङ’ सुनिश्चित गर्ने रास्वपाले बताएको छ।
‘अबको ५ वर्षमा भौतिक पूर्वाधारमा मात्र सीमित नभई डायस्पोराको पुँजी र ज्ञान आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरको खेलकुद सहर, उच्च शिक्षा अनुसन्धान केन्द्र, विशिष्टीकृत स्वास्थ्य सेवा र सांस्कृतिक पर्यटन गरी १० वटा नयाँ विविधीकृत क्षेत्रका आयोजनालाई विस्तृत परियोजना प्रतिवेदन र लागत सुनिश्चितता पछि राष्ट्रिय गौरवको सूचीमा समावेश गरी फास्ट ट्र्याक मोडलमा अगाडि बढाइनेछ,’ वाचा पत्रमा भनिएको छ।
एआईमा आधारित ट्राफिक क्यामेरा राख्ने
रास्वपाले सडक सुरक्षालाई प्रविधिसँग जोड्दै एआईमा आधारित ट्राफिक क्यामेरा राख्ने वाचापत्रमा उल्लेख गरेको छ।
‘सडक सुरक्षालाई प्रविधिसँग जोड्दै सबै सार्वजनिक यातायात साधनको जीपीएस ट्रयाकिङ लगायत एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति तथा लेन अनुशासन कडाइ गर्दै पहिलो वर्षमै दुर्घटना दरमा भारी गिरावट ल्याउने लक्ष्य राख्नेछौं,’ रास्वपाले भनेको छ।
रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना
रास्वपाले रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना तयार गर्ने उल्लेख गरेको छ।
‘नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको पचास वर्षे गुरुयोजना बनाउने छौं,’ रास्वपाले भनेको छ, ‘मेची-महाकाली विद्युतीय रेलमार्गलाई यात्रु र माल ढुवानीको मेरुदण्ड बनाइनेछ। पोखरा, काठमाण्डौ, दाङ, सुर्खेत र तराईका प्रमुख शहरसम्म शाखा मार्गसहित नेपाललाई चीन र भारतका रेल सञ्जालसँग जोडिनेछ।’
‘नेपालका प्रमुख शहरमा मध्यकालमा विद्युतीय बस र पछि लामो दूरीको रेलमार्ग सञ्जालमा जोडिन ट्र्याम, हलुका रेल आदि समेटिनेछ। मुआब्जा वितरणमा रहेका कानुनी जटिलतालाई समाधान गर्दै, आवश्यक जनशक्ति उत्पादन गर्दै निर्माणाधीन रेलमार्गलाई सकेसम्म चाँडो संचालनमा ल्याउने छौं,’ रास्वपाले भनेको छ।
नागरिकमैत्री ‘ग्रिन बेल्ट’ बनाउने
रास्वपाले ठूला शहरी क्षेत्रमा नगर बस सेवालाई चुस्त, सुरक्षित, आरामदायी नागरिकमैत्री ‘ग्रिन बेल्ट’ र सार्वजनिक पार्कले क्रमिक रूपमा विस्थापित गर्ने वाचा गरेको छ।
लामो दूरीको बस सेवामा सिन्डिकेट र कार्टेलिङलाई पूर्णतः अन्त्य गरी नागरिकलाई स्वस्थ प्रतिस्पर्धा र सुरक्षित गुणस्तरीय सेवा दिने रास्वपाले आफ्नो चुनावी वाचा पत्रमा उल्लेख गरेको छ।
इन्जिनियरिङ मापदण्ड लगायत ठेक्का प्रकृयामा व्यापक सुधार ल्याई राष्ट्रिय राजमार्ग संजालको उल्लेख्य विस्तार गर्ने रास्वपाले बताएको छ।
‘बाह्रै महिना द्रुत यात्रा गर्न सक्नु, अनि सबै ठाउँबाट बजार र सेवाहरूमा सजिलो पहुँच हुनु प्रतिस्पर्धी अर्थतन्त्रका पूर्वसर्त हुन्। धेरै ठाँऊमा ट्र्याक खुले पनि सडक सञ्जाल गुणस्तरीय, सुरक्षित र मौसममैत्री छैन,’ रास्वपाले भनेको छ, ‘बस्ती क्षेत्रमा पैदलयात्री र साइकल यात्रीलाई सडक छेउ हिंड्न र सडक काट्न चाहिने पर्याप्त सुरक्षित पूर्वाधारलाई सडकको मापदण्ड र ठेक्कामै समाहित गर्नेछौं।’
The post विकास आयोजना निर्माणमा रास्वपाले ‘मिसन मोड’ लागू गर्ने, ५ वर्षमा १० ठूला परियोजना appeared first on BIZMANDU.