PalikaNews
उपत्यका मेयर्स फोरमका निर्णय : फोहर व्यवस्थापन अध्ययन समिति गठन, दिगो सार्वजनिक यातायातका लागि सरकारसँग सहकार्य
काठमाडौँ, – उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय भएको छ । उपत्यका मेयर्स फोरम को बुधबार काठमाडौँमा बसेको १३ औँ बैठकले यस्तो निर्णय गरेको हो । बैठक फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिका का प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवगठित फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनका विधि र प्रविधिबारे अध्ययन गर्नुका साथै उपत्यकाभित्रका सबै स्थानीय तहबीच आवश्यक समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि काम गर्ने जनाइएको छ ।
बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउने उद्देश्यले यसअघिका अध्ययन प्रतिवेदनका तथ्य र सिफारिस विश्लेषण गरी उपयुक्त ढाँचामा नेपाल सरकार सँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण, गुरुयोजना तयार पार्ने तथा पूर्वाधार निर्माण र सञ्चालनमा संघ सरकारसँग सहकार्य गर्ने निर्णय गरिएको छ ।
बैठकपछि अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासमार्फत नागरिक जीवन सहज बनाउन सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले मेट्रो रेल अवधारणा कार्यान्वयनका लागि संघ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तह तयार रहेको उल्लेख गर्दै मेट्रो निर्माण अवधिमा पनि सहज सार्वजनिक यातायात सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको जानकारी दिए ।
बैठकमा काठमाडौँ महानगरपालिका की कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, वस्तीको मौलिकता तथा सांस्कृतिक र सामाजिक विशेषता सुहाउँदो ढाँचाको छनोट आवश्यक रहेको बताए । विगतमा सार्वजनिक यातायात प्रणालीबारे भएका अध्ययनमध्ये उपयुक्त विकल्प पहिचान गर्न पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो ।
अध्यक्ष महर्जनका अनुसार सार्वजनिक यातायातसम्बन्धी अध्ययन प्रतिवेदनको विश्लेषण तथा उपत्यकासुहाउँदो ढाँचाबारे आगामी बैठकमा विस्तृत प्रस्ताव पेश गरिनेछ ।
डंगोलले फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी वितरण, नदी सभ्यता संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणजस्ता सीमाविहीन समस्याको समाधानका लागि फोरमलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताए ।
बैठक सुरु हुनुअघि काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको वर्तमान अवस्था तथा दिगोपनाका लागि आवश्यक उपायबारे प्रस्तुति दिनुभएको थियो । प्रस्तुतीकरणमा ल्याण्डफिल साइट व्यवस्थापन र स्थानीय तहको जिम्मेवारीबारे विशेष जोड दिइएको थियो ।
हाल ल्याण्डफिल साइटमा काठमाडौँसहित ६ जिल्लाका २४ पालिकाबाट फोहरको अन्तिम व्यवस्थापन भइरहेको छ । फोहर ढुवानी नगरपालिका र निजी क्षेत्रबाट हुँदै आएको छ भने साइट व्यवस्थापनको काम काठमाडौँ महानगरपालिकाले गर्दै आएको जनाइएको छ ।