गैर पर्यटकीय भिसा सिफारिस अब पर्यटन मन्त्रलयबाटै
काठमाडौं । नेपालस्थित विभिन्न वायुसेवा कम्पनीहरूमा कार्यरत विदेशी जनशक्तिको गैर-पर्यटकीय भिसा सिफारिस प्रक्रियालाई सरकारले थप परिमार्जनसहित व्यवस्थित बनाएको छ । ‘हवाई सेवा व्यवस्थापन नियमावली, २०८२’ कार्यान्वयनमा आएसँगै विदेशी कर्मचारीको भिसा प्रक्रियामा नयाँ व्यवस्था लागू गरिएको हो ।
यसअघि वायुसेवा कम्पनीहरूले विदेशी पाइलट, इन्जिनियर वा अन्य प्राविधिक जनशक्तिका लागि गैर-पर्यटकीय भिसा सिफारिस गराउनुपर्दा कानुनी प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन पठाउनुपर्ने प्रावधान थियो ।
नयाँ नियमावलीको नियम २३ को उपनियम (३) बमोजिमको अवस्थामा अब सम्बन्धित वायुसेवा कम्पनीले सिधै मन्त्रालयमार्फत पनि निवेदन दिन सक्नेछन् । यस्तो अवस्थामा मन्त्रालय आफैँले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक सिफारिस माग गरी भिसा प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गरिएको छ ।
यो नयाँ व्यवस्थाले भिसा सिफारिसको प्रशासनिक प्रक्रियालाई थप छिटो र छरितो बनाउने अपेक्षा गरिएको छ ।