रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, सहकारीपीडितको पैसा सय दिनभित्रै फिर्ता, सञ्चालकलाई थुना बाहिरै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह बालेन, उपसभापति स्वर्णिम वाग्लेलगायतले बाचापत्र सार्वजनिक गरेका हुन् । पार्टीका उपसभापति वाग्लेले वाचापत्र सार्वजनिक गर्दै पार्टीले सरकारमा के गर्न भन्नेबारे विस्तृतमा जानकारी गराए । उनले फागुन २१ को निर्वाचन एक थान चुनावमात्रै नभएको भन्दै फागुन २१ पछि देशले आमूल सुधारको यात्रा तय गर्ने बताए ।
उनले रास्वपाको वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको दाबी गरेका छन् । ‘लोकतन्त्र सुरक्षित हुन मध्यम वर्गको आकार ठुलो हुनुपर्ने भयो । मध्यम वर्ग सुरक्षित हुनुपर्ने भयो । र, मध्यम वर्ग भविष्यप्रति आशावादी हुनुपर्ने भयो,’ वाग्लेले भने, ‘यसैले त्यही मध्यम वर्गलाई केन्द्रमा राखेर वाचापत्र ल्याएको छ ।’ रास्वपा०ले आमनिर्वाचनपछि सरकार बनाएको सय दिनभित्र सहकारी पीडितको पैसा फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ ।
वाचापत्रमा सहकारी पीडितको नाम नलेखी बचतकर्ताको खातामा रकम फिर्ता गर्ने भनिएको छ । ‘आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौं,’ बाचापत्रमा उल्लेख छ । बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने उल्लेख छ । जसले संकटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी भुक्तानीको दिने व्यवस्था गर्ने जनाइएको छ ।
‘हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो । त्यसैले, ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीतिअनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, ‘मिलापत्र’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौं,” बाचापत्रमा भनिएको छ । यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिने उल्लेख छ ।