npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

ट्रम्पको हमला गर्ने चेतावनीबीच इरानतर्फ अघि बढे रुस र चीनका युद्धपोतहरू

इन्द्र कमल रोक्का 10 hours ago

काठमाडाैं । इरानको बन्दर अब्बास बन्दरगाहमा केन्द्रित ‘म्यारिटाइम सेक्युरिटी बेल्ट २०२६’ अन्तर्गत रुस र चीनका युद्धपोतहरू पनि सहभागी भएका छन्। यो अभ्यासलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार निकोलाई पात्रुसेभले ब्रिक्स गठबन्धनको सामुद्रिक शक्तिको प्रदर्शनका रूपमा व्याख्या गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसी र चिनियाँ नौसेनाले इरानी फौजसँग मिलेर रणनीतिक तयारी, समन्वय र आपतकालीन प्रतिक्रियाको परीक्षण गरिरहेका छन्। यो अभ्यास सन् २०१९ देखि नियमित रूपमा हुँदै आएको भए पनि यस पटकको समय निकै संवेदनशील छ।

चीनले आफ्नो ४८औं फ्लटिलाबाट टाइप ०५२डीएल विनाशक ‘ताङ्शान’ सहितका जहाजहरू पठाएको छ । रुसले आफ्नो ‘मार्शल शापोश्निकोभ’ फ्रिगेट र ‘स्तोइकी’ कोर्बेट तैनाथ गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम र आन्तरिक आन्दोलन दबाएको विषयलाई लिएर सैन्य कारबाहीको चेतावनी दिइरहेका बेला यो अभ्यास भएको हो। अमेरिकाले ‘यूएसएस जेराल्ड आर. फोर्ड’ र ‘यूएसएस अब्राहम लिंकन’ जस्ता दुईवटा विशाल विमानवाहक जहाजहरू मध्यपूर्वमा पठाएको छ।

इरानी नौसेना कमाण्डर रियर एडमिरल शाहराम इरानीले विदेशी सेनाको उपस्थितिलाई ‘अनुचित’ भन्दै इरानसँग त्यसको सामना गर्ने क्षमता रहेको चेतावनी दिएका छन्। यदि अमेरिकाले इरानी सैन्य अखडामा हमला गर्याे भने त्यहाँ उपस्थित चिनियाँ र रुसी जहाजहरूले गर्दा निशाना बनाउन गाह्रो हुन सक्छ । गल्तीले ती जहाजमा हमला भएमा ठूलो अन्तर्राष्ट्रिय संकट निम्तिन सक्छ।

रुसी र चिनियाँ सेन्सरहरूले अमेरिकी हमलाको पूर्व-जानकारी इरानलाई दिन सक्ने सम्भावना रहन्छ। पूर्व सेन्ट्रम कमाण्डर जोसेफ भोटेलका अनुसार, यो अभ्यास सैन्य भन्दा बढी ‘ग्रेट पावर कम्पिटिसन’ को एक रूप हो, जसले इरान एक्लो छैन भन्ने सन्देश दिन्छ।

यसैबीच, इरानको आईआरजिसीले छुट्टै ‘स्मार्ट कन्ट्रोल अफ द स्ट्रेट अफ हर्मुज’ नामक अभ्यास पनि सुरु गरेको छ । यसमा इरानले अत्याधुनिक ड्रोन, एन्टी-शिप क्रूज मिसाइल र सबमरीनहरूको प्रयोग गरिरहेको छ। हर्मुज जलसन्धि विश्वको तेल व्यापारको मुख्य मार्ग हो। इरानले यो जलसन्धिलाई अस्थायी रूपमा बन्द गरेर आफ्नो ‘असिमेट्रिक’ युद्ध क्षमताको प्रदर्शन गरेको छ।

Read more news from Kendrabindu

Explore by Source or Category