PalikaNews
आमाको मुख हेर्ने पर्व देशभर श्रद्धापूर्वक मनाइँदै
काठमाडौँ, — प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातृ सम्मान दिवस आज देशभर आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गर्दै मनाइँदैछ। यस पर्वलाई “आमाको मुख हेर्ने दिन” का रूपमा समेत चिनिन्छ ।
शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा राखिन्छिन् । त्यसैले आजका दिन सन्तानहरूले बिहानै स्नान गरी आमालाई मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र उहाँबाट आशीर्वाद थाप्ने परम्परा रहिआएको छ ।
आमा जीवित नभएकाहरूले भने तर्पण, पिण्डदान तथा सिदादान गरी दिवङ्गत आमाको सम्झना गर्ने गर्छन् । वैदिक शास्त्रमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको महत्व विशेष रूपमा व्याख्या गरिएको छ ।
यस अवसरमा मातातीर्थ मा विशेष मेला लाग्ने परम्परा छ । आमाप्रति श्रद्धाञ्जली दिन बिहानैदेखि श्रद्धालुहरूको भीड लाग्ने गर्दछ ।
नौ महिनासम्म गर्भमा राखेर सन्तानलाई जीवन दिने भएकाले आमाको स्थान सर्वोच्च मानिने र यसै दिन विशेष रूपमा सम्मान व्यक्त गर्ने परम्परा रहिआएको छ ।