npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

चर्च ब्वाइजलाई पाखा लगाउँदै डेब्युमै सम्राट फाइनलमा

अनिल श्रेष्ठ 6 hours ago

विराटनगर। घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८औँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलले पराजित गर्दै सम्राट उपाधिनजिक पुगेको हो।

पहिलोपटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले डेब्युमै फाइनल पुग्ने सफलता हात पारेको छ। अब शनिबार हुने उपाधि भिडन्तमा सम्राटले झापा-११ को सामना गर्नेछ। रात्रिकालीन प्रतियोगिताको फाइनल खेल पनि शनिबार राति नै हुनेछ।

सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १-१ गोल गरे। खेलको प्लेयर अफ दी म्याच सम्राटका सुरुवाती खोल गर्ने सौरभ तामाङ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए।

खेलको ५०औँ मिनेटमा सौरभ तामाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको सात मिनेटको इन्जुरी समयमा सम्राटले थप दुई गोल गर्दै जित सुनिश्चित गर्‍यो। इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसको दुई मिनेट बित्न नपाउँदै इन्जुरी समयको छैटौँ मिनेटमा विवेक राईले गोल गरेपछि सम्राट ३-० ले विजयी भयो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। घरेलु दर्शकको भरपूर साथ पाएको सम्राटले सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिए पनि पहिलो हाफमा केही सुन्दर अवसर चुकाएको थियो। खेलको २९औँ मिनेटमा आदित्य शाक्यको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो भने ३२औँ मिनेटमा आशिष चौधरीले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोस्टमा लागेर फर्किएको थियो।

दोस्रो हाफको सुरुवातमै गोल खाएपछि दबाबमा परेको चर्च ब्वाइजले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन। चर्च ब्वाइजका स्ट्राइकर समीर तामाङ फिनिसिङमा पटक-पटक चुकेका थिए। ६७औँ मिनेटमा समीरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ७२औँ मिनेटमा सिर्जन गौतमको प्रहारले पनि सही दिशा लिन सकेन। अन्ततः गोलका अवसरहरू सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो।

यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुन्डा स्पोर्ट्स एकेडेमीलाई ३-१ ले पराजित गरेको थियो। अर्कोतर्फ झापा-११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category