npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नेपाली कम्पनीको ग्लोबल उपस्थिति, पहिलोपटक अत्याधुनिक प्रविधिमा धानखोला-लमही सडक स्तरोन्नति हुँदै

Masta KC 7 hours ago

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको सडक स्तरोन्नति कार्यमा पहिलोपटक नेपाली निर्माण कम्पनी छनोट भएको छ।

महेन्द्र राजमार्गको धानखोला-लमही ४० किलोमिटर सडक स्तरोन्नतिका लागि गरिएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ११ वटा स्वदेशी तथा विदेशी कम्पनीलाई उछिन्दै नेपालको शर्मा-कुमार जेभीले ठेक्का पाएको हो। यो शर्मा एण्ड कम्पनी र कुमार श्रेष्ठ कम्पनीको संयुक्त भेन्चर हो।

२ करोड अमेरिकी डलरको लागतमा दुई वर्षभित्र स्तरोन्तिको काम सक्नेगरी जेभीसँग एमसीए नेपालले सोमबार सम्झौता गरेको छ। यसअघि एमसीसीका प्रसारण लाइन र सब-स्टेशनका ठेक्काहरूमा विदेशी कम्पनीहरूको वर्चस्व थियो।

नेपालमा बनेका र बनिरहेका अन्य ठूला परियोजनाहरूमा पनि नेपाली कम्पनीका साथमा विदेशी भेन्चर साझेदारका रुपमा रहेका थिए। तर, सडक स्तरोन्नतिमा पहिलोपटक प्रयोग हुन लागेको ‘फूल डेप्थ रिक्लेमेशन’ (एफडीआर) तथा ‘सुपरपेभ’ प्रविधि पहिलोपटक नै नेपाली कम्पनीहरूले गर्ने भएका छन्।

सडक स्तरोन्नतिका लागि भएको आह्वानमा भारतदेखि युक्रेनसम्मका निर्माण कम्पनीले निवेदन दिएका थिए। ‘ग्लोबल टेण्डरमा एमसीसीजस्तो ठूलो परियोजनामा नेपाल कम्पनी छनोट हुनु नै हामी सक्षम छौं भन्ने बलियो आधार हो। यसले नेपाली निर्माण कम्पनी प्रतिस्पर्धी रहेको र विश्वबजारमा हाम्रो सम्भावना देखाउँछ,’ शर्मा एण्ड कुमार जेभीका प्रतिनिधि शौरभ शर्माले भने।  

स्तरोन्नतिमा प्रयोग हुन लागेको यो प्रविधिमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने छ।

जेभीका प्रतिनिधि तथा शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माले विश्वबजारमा चलेको अमेरिकी प्रविधि र कडा अन्तर्राष्ट्रिय मापदण्ड भएको एमसीसी परियोजनामा नेपाली कम्पनी छनोट हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए।

उनले भने, ‘हामीसँग माल्दिभ्समा कम गरेको अनुभव पनि छ। तर एमसीसीका परियोजनामा छनोट हुनु प्राविधिक र आर्थिक रुपमा नेपाली निर्माण कम्पनी विश्वस्तरको छ भन्ने सन्देश हो।’

शर्मा एण्ड कम्पनीले माल्दिभ्समा रिसोर्ट निर्माणको ठेक्का लिएको थियो। त्यस्तै कालिका कन्स्ट्रक्सन, टुण्डी कन्स्ट्रक्सनले विदेशी कम्पनीसँग मिलेर भारत तथा भुटानको सडक निर्माण गरेका केही उदाहरण छन्।

‘यसले नेपाली कम्पनी सक्षम रहेको देखाउँछ। तर नेपालमै पहिलोपटक नयाँ प्रविधिमा बन्न लागेको सडकमा एमसीसएले विश्वास गर्नु हाम्रा लागि विश्वबजारमा सम्भावनाको ढोका थप फराकिलो भएको उदाहरण हो,’ जेभीका प्रतिनिधि शौरभ शर्माले भने।

त्यसो त एफडीआर तथा सुपरपेभ प्रविधि नेपालमा पहिलोपटक प्रयोग हुन लागेकाले मेसिनरी तथा जनशक्ति अभाव छ। ठूला र विशेष ‘रिक्लेमर’ मेसिनहरू चाहिने भएकाले ठूलो लगानी गरेर मेसिनहरू भित्र्याउन सुरु गरिएको कम्पनीले जनाएको छ।

शर्मा-कुमार जेभीका प्रतिनिधि शौरभ शर्माले भने, ‘३ वटा ठूला मेसिनरी ल्याउने प्रक्रिया अगाडि बढाइसकेको छ। त्यसका साथै दुई जना इन्जिनियर भारतबाट लिनेछौं। बाँकी सबै काम नेपालीबाटै हुनेछ।’

के हो एफडीआर तथा सुपरपेभ प्रविधि?

अमेरिकाले फूल डेप्थ रिक्लेमेशन’ (एफडीआर) तथा सुपरपेभ प्रविधिको प्रयोग गरी सडक बनाउन लागेको तीन दशक पुग्न लागेको छ।

सन् १९९० को अन्त्यदेखि अमेरिकाबाट सुरु भएको प्रविधि अहिले क्यानडा, अस्ट्रेलिया,  न्युजिल्यान्ड, फ्रान्सदेखि भारतसम्म प्रयोग भइरहेको छ। भारतले केरला, उत्तर प्रदेश र मध्य प्रदेशजस्ता राज्यहरूमा यो प्रविधिबाट धेरै सडकहरू निर्माण गरिसकेको छ।

एफडीआर प्रविधिमा विद्यमान सडक संरचनाको पुन: प्रयोग हुने भएकाले लागतका हिसाबले किफायती र वातावरणमैत्री हुन्छ। यसमा पुरानो सडकको सबै संरचना जस्तै- कालोपत्रे, बेस र सबबेसलाई खनेर धुलो बनाइन्छ। सोही धुलोमा सिमेन्ट, इमल्सन वा अन्य आवश्यक रसायन मिसाएर फेरि बेस तयार गरिन्छ।

शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माले भने, ‘पुरानो सडकको ढुंगा, गिट्टी पुन: प्रयोगमा आउने भएकाले लागत र वातावरण दुवै हिसाबले यो निकै उपयोगी छ।’

त्यस्तै सुपरपेभ सडकको माथिल्लो सतह कालोपत्रे बनाउने एक विधि हो। यसले सडकको तापक्रम र भारी सवारी साधनको चापलाई थेग्न सक्छ। सोही अनुसार अलकत्राको ग्रेड छनोट हुन्छ।

यसले गर्मीमा कालोपत्रे पग्लिने र भारी सवारीका कारण सडक चर्किने समस्यालाई न्यूनीकरण गर्ने जेभीका प्रतिनिधि शौरभ शर्माले बताए।

The post नेपाली कम्पनीको ग्लोबल उपस्थिति, पहिलोपटक अत्याधुनिक प्रविधिमा धानखोला-लमही सडक स्तरोन्नति हुँदै appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category