npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप आगमी जेठ २९ र ३० गते हुने

पालिका ब्यूरो 22 hours ago

काठमाडौँ — आउँदो वर्ष २०८३ जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ को आयोजनामा हुने प्रतियोगिता ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ र ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नारासहित सञ्चालन गरिनेछ ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडा नम्बर २२ का वडाध्यक्ष तथा महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले यस वर्ष प्रतियोगितालाई थप समावेशी बनाउँदै महिलालाई पनि एथलेटिक्स फिजिक्स विधामा सहभागी गराइने जानकारी दिए । पहिलो संस्करणमा पुरुषतर्फ मात्र प्रतियोगिता सञ्चालन गरिएको थियो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ९ विधामा प्रतिस्पर्धा गराइनेछ । यसमा ६ वटा तौल समूह, २ वटा एथलेटिक्स फिजिक्स र एक ओभरअल प्रतिस्पर्धा समावेश छन् । पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूह रहनेछन्। एथलेटिक्स फिजिक्सतर्फ १७० सेन्टिमिटरभन्दा माथि र १७० सेन्टिमिटरसम्म गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ एथलेटिक्स फिजिक्स खुला प्रतिस्पर्धा आयोजना गरिनेछ ।

प्रत्येक तौल समूहका विजेताहरू ओभरअल प्रतिस्पर्धामा सहभागी हुनेछन्। ओभरअल प्रतिस्पर्धाका विजेताले ‘दोस्रो मिस्टर महानगर’ को उपाधिसहित ५ लाख रुपैयाँ नगद, ट्रफी र ब्यानेट प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो दिन खेलाडीहरूको तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल प्रतिस्पर्धा सञ्चालन हुनेछ ।

तौल समूहका प्रथम विजेतालाई १ लाख रुपैयाँ नगद, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ तोकिएको छ। अन्य स्थान हासिल गर्ने खेलाडीलाई पनि नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ ।

वडा नम्बर २२ ले खेलकुद विकासका लागि निरन्तर रूपमा विभिन्न प्रतियोगिता र तालिम सञ्चालन गर्दै आएको छ । गत वर्ष मिस्टर महानगर, सहीद सुरज स्मृति महानगरव्यापी अन्तरवडा बुद्धिचाल प्रतियोगिता तथा पौडी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । यस वर्ष पनि ती कार्यक्रमलाई निरन्तरता दिइने वडाध्यक्ष महर्जनले बताए ।

उनले स्वास्थ्योपचारभन्दा पनि स्वास्थ्य प्रवद्र्धनमा जोड दिँदै भने, “स्वास्थ्योपचारका लागि पूर्वाधार बनाउनेभन्दा आरोग्य हुन आवश्यक पूर्वाधार तयार पार्न हामीले प्राथमिकता दिएका छौँ ।”

काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले प्रतियोगिताले खेलाडीलाई तयारीको पर्याप्त समय दिएको उल्लेख गर्दै वडाको यो पहल अन्य वडाका लागि पनि उदाहरण बन्न सक्ने बताए । उनका अनुसार यसले खेलकुद प्रवद्र्धनसँगै स्वस्थ समाज निर्माणमा योगदान पु¥याउनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । पत्रकार भेटघाटका क्रममा सहभागीहरूले भेट्रान खेलाडीका लागि छुट्टै प्रतियोगिता आयोजना गर्न सुझावसमेत दिएका छन् ।

Read more news from PalikaNews

Explore by Source or Category