कांग्रेस आधिकारिकता मुद्दामा आज विश्वप्रकाश शर्मा स्वयं बहसमा उत्रने
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक शक्ति–सङ्घर्ष अब सर्वोच्च अदालतको इजलासमा प्रवेश गरेको छ । पार्टीको विशेष महाधिवेशनको वैधानिकता र आधिकारिकताको मुद्दामा उपसभापति विश्वप्रकाश शर्मा आज स्वयं विपक्षी पक्षबाट बहस गर्न इजलासमा उत्रिँदै छन् ।
पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा विशेष महाधिवेशनलाई मान्यता नदिन माग गरिएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबार खड्का पक्षका कानुन व्यवसायीहरूले बहस सकेका थिए । आज शुक्रबार भने विशेष महाधिवेशनको पक्षबाट बहस गर्ने पालो हो ।
विपक्षी सूचीमा रहेका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा दुवैले आज बहस गर्नेछन् । व्यावसायिक अधिवक्ताहरूसँगै शर्माले विशेष महाधिवेशन किन आवश्यक, किन वैधानिक र किन पार्टीको हितमा थियो भन्ने स्पष्ट तर्क पेश गर्ने तयारी गरेका छन् ।
रिटमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । शर्मा पक्षले इजलासमा आफ्नो ‘काउन्टर’ दिने पालो आजै हो ।
बिहीबार रिटकर्ता पूर्णबहादुर खड्काको पक्षबाट अधिवक्ताहरू गोविन्द बन्दी, शेरबहादुर केसी, पंकज कर्ण, एगराज पोखरेललगायतले विशेष महाधिवेशनको प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका थिए । सरकारी पक्षबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरेका थिए । आजको बहसमा सभापति थापा पक्ष र निर्वाचन आयोगको तर्फबाट पनि धारणा राखिने छ ।
यो मुद्दा कांग्रेसभित्रको गहिरो फुटको कानुनी अभिव्यक्ति हो । शेरबहादुर देउवा निकट खड्काले विशेष महाधिवेशन रोक्न सर्वोच्च अदालत गुहारेका थिए भने गगन थापा–विश्वप्रकाश शर्मा समूहले महाधिवेशनलाई पार्टी पुनर्जागरणको आवश्यक कदम भनेको छ ।
इजलासमा आज जे–जे बहस हुनेछ, त्यसले नेपाली कांग्रेसको भविष्य मात्र होइन, पार्टीको आधिकारिकता र वैधानिक संरचनाको बारेमा पनि निर्णायक दिशा दिन सक्ने देखिन्छ । सर्वोच्च अदालतको यो सुनुवाइलाई कांग्रेस वृत्तले निकै चासोका साथ हेरिरहेको छ ।