प्रदेशका मुख्यमन्त्रीसँग बालेनको तीन घण्टा छलफल, ‘पहिलो भेटमै पुराना साथीसँग जस्तो संवाद’
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न पाँच प्रदेशका मुख्यमन्त्रीसँग करिब तीन घण्टा छलफल गरेका छन्।
बालेनले प्रधानमन्त्रीको जिम्मेमवारी सम्हालेपछि बिहीबार प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौंमा डाकेर संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा मुख्यमन्त्रीहरूले प्रदेशगत रुपमा आफ्ना क्षेत्रका समस्या राखेका थिए।
अन्तर्क्रियात्मक शैलीमा भएको छलफलमा प्रधानमन्त्री बालेनले मुख्यमन्त्रीहरूले समस्या राख्नेवित्तिकै तत्काल समाधान गर्ने उपायसमेत सुझाएको उनको सचिवालयले जनाएको छ।
उनले नीतिगत जटिलताहरु संघ र प्रदेशको साझा संयन्त्रमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीसँगको पहिलो भेट नै धेरै पुराना साथीहरूबीचको संवाद जस्तै सौहार्द र मित्रतापूर्ण भएको बताए।

‘उहाँले हाम्रा कुरा गम्भीरतापूर्वक सुन्नुभयो र बीचबीचमा जिज्ञासा राखेर विषयलाई अझ प्रष्ट पार्नुभयो,’ पाण्डेले भने।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले प्रधानमन्त्रीले कुनै पनि समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

‘उहाँले पर्याप्त समय दिएर हाम्रा कुरा सुन्नुभयो र आफ्ना कुरा राख्नुभयो,’ बानियाँले भने, ‘उहाँले आवश्यक सहजीकरणका लागि आजै आफ्नो कार्यालयमार्फत निर्देशन समेत दिनुभएकोमा खुसी लागेको छ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीले संविधानको मर्मअनुसार तीन तहका सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई गहिरोसँग आत्मसात् गरेको महसुस आफूले गरेको बताए।

छलफलमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र कर्णालीका यामलाल कँडेल पनि सहभागी थिए। तर कोशीका मुख्यमन्त्री हिक्मत कार्की पारिवारिक कारण र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह स्वास्थ्य समस्याका कारण अनुपस्थित थिए।
The post प्रदेशका मुख्यमन्त्रीसँग बालेनको तीन घण्टा छलफल, ‘पहिलो भेटमै पुराना साथीसँग जस्तो संवाद’ appeared first on BIZMANDU.