आजदेखि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र छापिने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको स्थलगत निरीक्षण गर्दै लाइसेन्स छपाइ प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका छन्।
उनले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छापेर सेवाग्राहीलाई हस्तान्तरण गर्ने व्यवस्था आज (शुक्रबार) देखि नै लागू भएको घोषणा गरेका छन्।
मन्त्री तिमिल्सिनाले निरीक्षणका क्रममा भने, “अब सम्भव काम रोकिने छैन। सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ।” विगतमा इच्छाशक्ति र व्यवस्थापन अभावले गर्दा काम ढिलो भएको स्वीकार गर्दै उनले अब समस्या समाधान गर्दै अघि बढ्ने स्पष्ट पारे।

केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण वर्षौंदेखि प्रयोगविहीन थन्किएर बसेकोप्रति मन्त्रीले असन्तुष्टि व्यक्त गरे। “ठूलो लगानीमा खरिद गरिएका मेसिन तथा जेनेरेटरलगायत सामग्री अब पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने छ,” उनले निर्देशन दिए। साथै नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिँदै सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न पनि केन्द्रलाई निर्देशन दिएका छन्।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले हाल दैनिक करिब ४० हजार थान लाइसेन्स छपाइ भइरहेको जानकारी दिए। विदेश जाने नागरिकका लागि लाइसेन्सलाई प्राथमिकता दिइएको छ भने यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन आउने गरेको उनले बताए। वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको ढुङ्गानाको भनाइ छ।
ढुङ्गानाले केन्द्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन व्यावसायिक योजना तयार भइरहेको बताए। भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजातसमेत यही केन्द्रबाट छाप्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको छ।

निरीक्षणका क्रममा सांसद मधुकुमार चौलागाईं, डा. राम लामा, बदनकुमार भण्डारीलगायतको उपस्थिति थियो। मन्त्री तिमिल्सिनाले केन्द्रको भौतिक पूर्वाधार, मेसिनरी र खाली भवनको अवस्थाबारे समेत जानकारी लिएका थिए।
यो कदमले वर्षौंदेखि लाइसेन्सको लागि महिनौं कुर्नुपर्ने नागरिकको पीडालाई तत्काल सम्बोधन गर्ने अपेक्षा गरिएको छ। मन्त्री तिमिल्सिनाले मन्त्रालयको पहिलो प्राथमिकतामै सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्था बनाउने प्रतिबद्धता जनाएका छन्।