PalikaNews
बेमौसमी वर्षाले धान उत्पादन घट्यो
मोरङ – बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशकै अग्रणी जिल्लामध्ये मानिने मोरङमा गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान कम उत्पादन भएको हो ।
मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिकको दोस्रो सातामा परेको बेमौसमी वर्षाले पाकेको धानमा क्षति पु¥याउँदा उत्पादन घटेको हो । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन मात्र उत्पादन भएको छ । प्रतिहेक्टर उत्पादन पनि घटेर गत वर्ष चार दशमलव ८८ मेट्रिक टन रहेकामा यस वर्ष चार दशमलव ८५ मेट्रिक टनमा सीमित भएको छ । यस वर्ष मोरङमा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।
कृषिविज्ञ राजेन्द्र उप्रेतीका अनुसार खेतीयोग्य जमिन आसपासका खोलानाला मासिँदा पानीको निकास हुन नसकेर पाकेको धानमा बढी क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । उनले उत्पादन राम्रो देखिए पनि धान थन्क्याउने समयमा परेको वर्षाले असर पारेको बताए ।
बेलबारी नगरपालिका–११ भाङबारीका किसान वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमा करिब ९० मन धान बेमौसमी वर्षाले नोक्सान भएको बताए । उत्पादनमा क्षतिसँगै धानको बजार मूल्यसमेत घटेकाले किसान थप चिन्तित भएको उनको भनाइ छ ।
यस वर्ष धानको बजार मूल्य प्रतिमन एक हजार २०० देखि एक हजार ३०० रुपैयाँसम्म रहेको छ । गत वर्ष मङ्सिरमा प्रतिमन एक हजार ७०० देखि एक हजार ८०० रुपैयाँसम्म धानको कारोबार भएको खत्रीले जानकारी दिए ।