अमेरिका-इरान वार्ता निष्कर्षविहीन, संयम अपनाउन आग्रह
अमेरिका र इरानबीचको शान्ति वार्ता कुनै निष्कर्षमा नपुगी टुङ्गिएपछि क्षेत्रीय तनाव बढ्ने खतरा देखिएको छ । यसै सन्दर्भमा पाकिस्तानले दुवै राष्ट्रलाई युद्धविराम कायम राख्दै संवादको बाटो नछोड्न अपिल गरेको छ ।
पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण समाधानका ढोकाहरू अझै बन्द नभएको उल्लेख गरे । उनले क्षेत्रीय र विश्वव्यापी स्थिरताका लागि वार्ता र युद्धविरामको प्रतिबद्धता अपरिहार्य रहेको बताए । पाकिस्तानले इरान र अमेरिकाबीच संवादको वातावरण बनाउन सक्रिय भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि मध्यस्थता जारी राख्ने उनले प्रस्ट पारे ।
प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफको निमन्त्रणामा इस्लामावादमा भएको यस उच्चस्तरीय बैठकमा दुवै देशका प्रतिनिधिहरूको सहभागिता रहेको पाकिस्तानी सञ्चार माध्यमले उल्लेख गरेका छन्।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने इरानी पक्षको नेतृत्व संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए ।
विदेशमन्त्री दार र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीरसँगको उपस्थितिमा करिब २४ घण्टासम्म सघन छलफल चले पनि कुनै ठोस सहमति जुट्न सकेन ।
विशेषगरी इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको नियन्त्रणका विषयमा दुई पक्षबीच मुख्य विवाद देखिएको छ । वार्ता सफल नभएपछि अमेरिकी उपराष्ट्रपति भान्स इस्लामावादबाट बाहिरिएका छन् ।
उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै केही प्राविधिक विषयमा सुधार देखिए पनि औपचारिक सम्झौता हुन नसकेको जानकारी दिए । यो विफलताले कूटनीतिक प्रयासका बाबजुद दुई देशबीचको गहिरो अविश्वास र रणनीतिक मतभेद कायमै रहेको पुष्टि गरेको छ ।