चोरिएको मूर्ति आफ्नै थलोमा फिर्ता
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हराउँदै गएका ऐतिहासिक सम्पदा पुनःस्थापना अभियानलाई तीव्र बनाउँदै १३औँ शताब्दीको महागौरी/पार्वती मूर्ति पुनः आफ्नै स्थानमा राखेको छ। विश्व सम्पदा दिवसको अवसर पारेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको उक्त मूर्ति मरुस्थित सूर्यमुखी महादेव मन्दिर परिसरमा पुनःस्थापित गरिएको हो।
वर्षौँअघि चोरी भई विदेशसम्म पुगेको यो मूर्ति बेलायतबाट फिर्ता आएपछि लामो समय सङ्ग्रहालयमा थन्किएको थियो। अब भने महानगरको पहलमा मूर्तिलाई यसको मूल आसनमै फर्काइएको छ, जसलाई स्थानीयले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।
सम्पदा संरक्षणकर्मी र महानगरका जनप्रतिनिधिको सक्रियतामा गरिएको यो कदमले ‘सङ्ग्रहालयमा थन्क्याउने होइन, मौलिक स्थानमै जोगाउने’ नीति अघि बढेको सन्देश दिएको छ। महानगरले आगामी दिनमा पनि हराएका र विस्थापित सम्पदाहरू खोजी गरी पुनःस्थापना गर्ने अभियान जारी राख्ने जनाएको छ।