‘परान’ले पूरा गर्यो ५१ दिन
काठमाडौँ । नेपाली फिल्म ‘परान’ले प्रदर्शनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । फिल्मले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको हो । हाल पनि देशभरका आधा दर्जनभन्दा बढी हलमा फिल्म प्रदर्शनरत छ । यस वर्ष ५१ दिन मनाउने यो तेस्रो फिल्म बनेको छ । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले ५१ दिनको प्रदर्शन पूरा गरेका थिए ।
५१ दिनको अवधिमा फिल्मले बक्स अफिसमा करिब १७ करोड ६० लाख रुपैयाँ ग्रस व्यापार गरेको छ । यससँगै फिल्मले ‘छक्का पञ्जा ४’ र ‘जारी’ जस्ता चर्चित फिल्महरूको व्यापारिक आँकडा उछिनेको छ ।
‘परान’ नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्मसमेत बनेको छ । हालसम्म योभन्दा बढी कमाइ गर्ने फिल्महरूमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), ‘कबड्डी ४’ (२१ करोड ४० लाख) र ‘पूर्णबहादुरको सारङ्गी’ (४६ करोड ८७ लाख) रहेका छन् । दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भएपछि फिल्मले पाँच साता निरन्तर आक्रामक कमाइ गर्न सफल भयो ।
बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा र बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ । हास्य कलाकारका रूपमा परिचित दीपक प्रसाद आचार्य ‘काकु’ले फिल्मको निर्देशन गरेका हुन्।