npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

पाकिस्तान एयरलाइन्स बेच्ने प्रक्रिया अन्तिम चरणमा, आजको बोलपत्रले तय गर्नेछ नयाँ मालिक

Bhim Ghimire 7 hours ago

काठमाडौं। निरन्तरको घाटा र भारी ऋणमा परेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई सरकारले निजीकरण गर्ने भएको छ। यसका लागि थालेको प्रक्रिया अहिले आफ्नो निर्णायक र अन्तिम चरणमा पुगेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

२० वर्षदेखि यो एयरलाइन्स लगातार घाटामा चल्दै आएको छ। सरकारले बर्सेनि अर्बौं रुपैयाँ अनुदान दिएर टिकाउँदै आएको थियो, जुन अब असम्भव भएपछि निजीकरण गर्न लागिएको हो। कम्पनी अर्बौंको ऋण भारले थिचिएको छ।

राष्ट्रिय ध्वजावाहक विमान सेवालाई पुनर्जीवित गर्न सरकारले स्वामित्व निजी क्षेत्रलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको हो। यसका लागि मंगलबार अन्तिम बोलपत्र प्रक्रिया सम्पन्न गर्ने तयारी छ, जसलाई सरकारले पूर्ण पारदर्शिताका लागि टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने योजना समेत बनाएको छ।

पाकिस्तानको निजीकरण आयोग आयोगले नै आधिकारिक रूपमा डिसेम्बर २३ को मिति तय र बोलपत्रका सर्तहरू सार्वजनिक गरेको हो। लगातारको नोक्सानीले पीआइएको हालको अवस्था निकै चुनौतीपूर्ण छ। सरकार आफैंले सञ्चालन गर्न नसक्ने भएर निजीकरण गर्नुपरेको हो।

हाल कम्पनीसँग रहेका ३४ वटा जहाजमध्ये १८ वटा मात्र उडानयोग्य अवस्थामा छन् भने यसको कुल ऋण र दायित्व ६५० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढी पुगिसकेको छ। यस्तो जर्जर अवस्थाबाट मुक्त हुन सरकारले एयरलाइन्सको ७५ प्रतिशत सेयर सुरुमै बेच्ने र बाँकी २५ प्रतिशत शेयर पनि विजेता कम्पनीले निश्चित प्रिमियम तिरेर किन्न सक्ने गरी सतप्रतिशत निजीकरणको बाटो रोजेको हो। यो प्रक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको ७ अर्ब डलरको बेलआउट प्याकेजको एक प्रमुख सर्तसमेत हो।

निजीकरणका लागि तय गरिएका सर्तहरू निकै कडा र रणनीतिक छन्। सरकारले प्राप्त हुने कुल बोलपत्र रकमको ७.५ प्रतिशत मात्र नगदका रूपमा सरकारी कोषमा राख्नेछ भने बाँकी ९२.५ प्रतिशत रकम विजेता कम्पनीले सिधै पीआइएको पूर्वाधार सुधार र सञ्चालनमा लगानी गर्नुपर्नेछ। यसका साथै, कर्मचारीहरूको हकहितलाई ध्यानमा राख्दै नयाँ व्यवस्थापनले कम्तीमा एक वर्षसम्म कुनै पनि कर्मचारीलाई हटाउन पाउने छैन। अवकाशप्राप्त कर्मचारीहरूको पेन्सन र औषधि खर्चको दायित्व भने सरकारको होल्डिङ कम्पनीले नै व्यहोर्ने गरी सर्त तय गरिएको छ।

यस महत्त्वपूर्ण बोलपत्र प्रक्रियामा हाल तीनवटा मुख्य समूहहरू प्रतिस्पर्धामा छन्। जसमा लक्की सिमेन्टको नेतृत्वमा रहेको कन्सोर्टियम, आरिफ हबिब ग्रुपको कन्सोर्टियम र एयर ब्लु छन्। सुरुमा इच्छा देखाएको फौजी फाउन्डेशन भने अन्तिम समयमा आएर प्रक्रियाबाट बाहिरिएको छ। यदि प्राप्त बोलपत्रहरू सरकारले तोकेको न्यूनतम मूल्य (रिजर्भ प्राइस) भन्दा कम भएमा सबैभन्दा बढी मूल्य प्रस्ताव गर्नेलाई उक्त मूल्यमा मिलान गर्न पहिलो अधिकार दिइनेछ।

यो निजीकरण सफल भएमा पाकिस्तानको उड्डयन क्षेत्रमा मात्र नभई समग्र अर्थतन्त्रमा एउटा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ। यसले सरकारको वित्तीय बोझ कम गर्ने र यात्रुहरूले गुणस्तरीय सेवा पाउने विश्वास लिइएको छ। यस प्रक्रियाले दक्षिण एसियाली क्षेत्रकै उड्डयन बजारमा ठूलो हलचल पैदा गर्ने देखिएको छ।

The post पाकिस्तान एयरलाइन्स बेच्ने प्रक्रिया अन्तिम चरणमा, आजको बोलपत्रले तय गर्नेछ नयाँ मालिक appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category