अब देशको बागडोर युवाले सम्हाल्नुपर्छ: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन्। इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा उनले चुनावको तयारीमा लाग्न आग्रह गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले यो सरकारको मुख्य लक्ष्य नै चुनाव गराउनु रहेको स्पष्ट पारिन्। असामान्य अवस्थामा शान्ति स्थापना र निर्वाचनका लागि सरकार गठन भएको उल्लेख गर्दै उनले कानुनको शासन बहालीमा सफलता मिलेको दाबी गरिन्। चुनावले मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित गर्ने उनको भनाइ थियो।
भेटका क्रममा प्रधानमन्त्रीले नेम्बाङको चुनावी तयारीबारे जिज्ञासा राख्दै अब युवाहरू नै देशको नेतृत्वमा आउनुपर्ने धारणा राखिन्। उनले पुरानो पुस्ताको अनुभव र सल्लाह काम लाग्ने भए पनि ‘ड्राइभिङ सिट’ मा युवा नै बस्नुपर्ने बताइन्। ‘बाँसको कलमले अक्षर लेख्न सिकेकाहरूले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गरेर हुँदैन,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘देश युवाले नै हाँक्नुपर्छ, उनीहरूमा साहस र ऊर्जा हुन्छ।’
सो अवसरमा नेम्बाङले प्रधानमन्त्रीलाई निर्वाचन सम्पन्न गराउन सफलता मिलोस् भन्दै शुभकामना दिए। उनले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त भएका राजमार्ग र पुलहरूको पुनःनिर्माणमा सरकारले तदारुकता देखाउनुपर्ने भन्दै ध्यानाकर्षण समेत गराए। जवाफमा प्रधानमन्त्री कार्कीले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरिसकेको र सरकार यस विषयमा गम्भीर रहेको जानकारी दिइन्।