सर्वपक्षीय सरकारको एजेण्डामा ओली-देउवा एक ठाउँः प्रचण्ड पनि नरम, रविको ‘मुभ’ के हुन्छ?
काठमाडौं। प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एकै ठाउँमा उभिएका छन्।
ओलीले देउवालाई भेटेपछि कांग्रेसका निवर्तमान सांसदहरुले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब दिन धमाधम हस्ताक्षर गर्न थालेका छन्।
विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्नो पार्टीका ६५ जना निवर्तमान सांसदले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिसकेको बताए।
एमालेका निवर्तमान सांसदले यसअघि नै हस्ताक्षर गरिसकेका छन्। जनतम पार्टीकी सांसद गोमा लाभ सापकोटा, जनता समाजवादी पार्टीकी हसिना खान र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सोमबार हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेको संख्या १४३ पुगेको छ।

‘लोसपाले गर्छु भनेको छ। अरु दलका ३ जनाले गरिसके। हाम्रा ६५ जना छन्। एमालेका सबैले गरे। अब हामीले कानुन व्यवसायीलाई बोलाएर बुझाउँछौं। उहाँहरुले अदालती प्रक्रियाबारे भन्नुहोला,’ घिमिरेले भने।
त्यसो त एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै मंसिर ९ गते नै सर्वोच्च अदालत पुगेको थियो। कांग्रेसका केही निवर्तमान सांसदले मंसिर २३ गते सर्वोच्चलाई गुहारेका थिए। प्रतितिनिधि सभा पुनर्स्थापनाको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

निवर्तमान सांसदहरुलाई हस्ताक्षर गराइरहेका ओली र देउवाले सबैजसो दलको शीर्ष तहमा पुनर्स्थापनाबारे संवाद सुरु गरिसकेका छन्।
जेनजी आन्दोलनपछि सोमबार महाराजगंज पुगेर देउवासँग दोस्रोपटक भेटेका ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘मुड’ पनि बुझिसकेका छन्।
पार्टीको ११औं महाधिवेशन सकिएपछि ओलीले टेलिफोनमार्फत प्रचण्डसँग संवाद गरेको र पुनर्स्थापनाको पक्षमा प्रचण्ड लचिलो रहेको एमाले नेताहरुको दाबी छ।
‘अध्यक्षले सबैजसो दलको शीर्ष तहमा संवाद गरिसक्नुभयो। देउवासँग त पहिले नै कुरा भएको हो। पुनर्स्थापनाको एजेण्डामा सबैलाई सहमत गराउने हो। प्रचण्डसँगको संवाद पनि त्यही हो,’ ओली निकट एक नेताले भने।
पुनर्स्थापनाका लागि अदालतमाथि दबाब बढाउन एमालेले साना दलहरुसँग समेत संवाद अघि बढाइसकेको छ।
देउवा र प्रचण्डबीच समेत भेटवार्ता भइसकेको छ। पछिल्लो भेटमा प्रतिनिधि सभा पुनर्स्थापनादेखि नयाँ राजनीतिक समीकरणकाबारे समेत छलफल भएको उनीहरु निकट नेताले बताएका छन्।
फागुन २१ को निर्वाचनबारे संशय बढ्न थालेपछि प्रचण्ड आफैंले देउवासँगको भेटवार्ताबारे सार्वजनिक गरिसकेका छन्।
सिंहदरबारमा सोमबार भएको सर्वपक्षीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रतिनिधि सभा पुनर्स्थापनामा समेत आफ्नो पार्टी लचिलो हुनसक्ने सन्देश दिए।

‘६ महिनामा नयाँ पार्लियामेन्ट आएन भने निर्णय कि सडकले गर्छ नभए पुनर्स्थापना हुन्छ भन्नेमा हामी सबै क्लियर नै छौं,’ उनले भने।
ओलीले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने भन्दै नयाँ सर्वपक्षीय सरकारको वकालत गर्दै आएका छन्। ओलीले केही जेनजी अभियन्तासँगको संवादपछि सर्वपक्षीय सरकार गठनको प्रस्ताव कात्तिक १० गते सार्वजनिक गरेका थिए।
ओलीसँग संवाद गरेका जेनजीहरु कार्की सरकारविरुद्ध सडकमा उत्रिन थालेका छन्। उनीहरुले सर्वपक्षीय सरकारको एजेण्डा अघि बढाइरहेका छन्।
‘जेनजीहरुसँग कुराकानी गरेर नै प्रस्ताव आएको थियो। त्यसको असर अहिले देखिन थालिसकेको छ,’ एमालेका एक पदाधिकारी भन्छन्।

कांग्रेस बाहेकका दलहरु पनि पुनर्स्थापनाको पक्षमा उभिन थालेपछि देउवासँगको संवादलाई निर्णायक रुप दिन ओली सोमबार अपराह्न महाराजगञ्ज पुगेका थिए। देउवासँगको वार्तामा ओलीले पार्टी महासचिव शंकर पोखरेललाई पनि सहभागी गराएका छन्।
‘कार्की सरकारको विकल्पमा नयाँ बन्ने सरकारको नेतृत्व देउवाले गर्ने या अरु कोही गैरराजनीतिक व्यक्तिलाई अघि सार्ने भन्ने तहमा छलफल भएको छ। सहमति भइसकेको छैन,’ एमालेका ती पदाधिकारीले भने।
पहिला अदालत या राष्ट्रपतिमार्फत प्रतिनिधि सभा पुनर्स्थापना गराउने, त्यसपछि सर्वपक्षीय सरकारका लागि संविधान संशोधन गर्ने र छोटो समय प्रतिनिधि सभा चलाएर फेरि पनि विघटन गर्ने रोडम्याप ओलीले अघि सारेका छन्।

ओलीको एजेण्डामा देउवा र प्रचण्ड सहमत भए पनि कांग्रेसभित्र चुनावमा जानुपर्ने मत बलियो छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनावबाट दायाँबायाँ गर्न नहुने बताउँदै आएका छन्।
एमाले अध्यक्षमा पराजित ईश्वर पोखरेलको समूहले पनि ओलीलाई चुनाव बाहेकको विकल्पमा साथ नदिने बताइसकेको छ।
नयाँ सरकारको विकल्पबारे गृहकार्यमा जुटेका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि संवाद गर्न चाहिरहेका छन्। विभिन्न नेताहरुमार्फत अनौपचारिक संवाद भए पनि ओलीसँग कुराकानीका लागि रास्वपाका नेताहरु तयार भएका छैनन्।
रास्वपाका सभापति रवि लामिछाने कारागारमुक्त भएसँगै उनलाई ओलीले आफ्नो एजेण्डामा सहमत गराउन चाहेको एमाले नेताहरुको भनाइ छ। तर, लामिछाने कुनै पनि हालतमा कांग्रेस-एमालेको पक्षमा नलाग्ने अडानमा छन्।

आइतबार प्रधानमन्त्री कार्कीसँगको भेटवार्तामा पनि लामिछानेले आफू चुनावका लागि तयार भएको बताएका थिए। पुराना दलहरुलाई हेरेर निर्वाचन नसार्न लामिछानले कार्कीलाई आग्रह गरेको भेटमा सहभागी नेताहरुको भनाइ छ।
‘एमाले या कांग्रेसको भनाइमा नलाग्नुस्। चुनाव त उनीहरुका लागि मात्र गर्ने होइन। चुनाव त जसरी पनि गर्नुपर्छ। नभए संवैधानिक रिक्तता हुन्छ भनेर सभापतिले भन्नुभएको छ। एमाले-कांग्रेससँग सभापतिले समीकरण गर्नुहुन्छ जस्तो लाग्दैन,’ रास्वपा सचिवालयका एक सदस्यले भने।

रास्वपाले चुनावसम्म पुराना राजनीतिक दलसँग समीकरण नै नगर्ने रणनीतिमा छ। अरु दलहरुसँग समेत संवाद र सहकार्य गर्नुपर्ने आफ्नै पार्टीका केही नेताहरुको भनाइमा समेत लामिछानेले असन्तुष्टि जनाइरहेका छन्। आफूमाथि राजनीतिक पूर्वाग्रह गरिएको भन्दै अब चुनावमार्फत अन्तिम लडाइँ लड्ने लामिछानेले पार्टीको बैठकमा बताएका छन्।
The post सर्वपक्षीय सरकारको एजेण्डामा ओली-देउवा एक ठाउँः प्रचण्ड पनि नरम, रविको ‘मुभ’ के हुन्छ? appeared first on BIZMANDU.