npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

ललितपुर महानगरलाई ११ थान फोटोनकाे ईभी हस्तान्तरण, फोहोर संकलनका लागि प्रयोग हुने

इन्द्र कमल रोक्का 6 hours ago

काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने दिशामा महत्वपूर्ण फड्को मारेको छ।

नेपालमा पहिलोपटक फोहोर संकलनका लागि विद्युतीय सवारीसाधन प्रयोग गर्दै ११ थान फोटोन टीएम १ इलेक्ट्रिक वेस्ट कलेक्सन गाडी महानगरलाई हस्तान्तरण गरिएको हो ।

नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रा.लि.ले यी गाडीहरू महानगरलाई उपलब्ध गराएको हो । शहरको आवश्यकतालाई ध्यानमा राखी विशेष रूपमा तयार गरिएका यी गाडीहरू फोहोर संकलन कार्यलाई सहज, प्रभावकारी र वातावरणमैत्री बनाउने लक्ष्यसहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

महानगरका अनुसार, विद्युतीय गाडीको प्रयोगसँगै फोहोर संकलन टोलीलाई अझ व्यवस्थित बनाइएको छ। पहिले तीन जनाले गर्ने काम अब दुई जनाले प्रभावकारी रूपमा गर्न सक्ने भएका छन् । यसले श्रम दक्षता बढाउनुका साथै लागत घटाउन पनि सहयोग पुर्‍याएको छ । साथै, यस पहलले महिलाहरूलाई समेत रोजगारीमा सहभागी गराउँदै लैङ्गिक समावेशीकरणलाई प्रोत्साहन गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रदूषण न्यूनीकरण महानगरको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा आधारित सवारीको विकल्प खोज्ने क्रममा विद्युतीय गाडी उपयुक्त समाधान बनेको बताए । उनले फोटोनले उपलब्ध गराएको समाधानप्रति सन्तुष्टि व्यक्त गरे ।

त्यस्तै, एमएडब्लू वृद्धि कमर्शियलका प्रमुख कार्यकारी अधिकृत अनिल बरालले विद्युतीय फोहोर व्यवस्थापन प्रणाली नेपालका लागि नयाँ अवधारणा भए पनि यसको सफल कार्यान्वयनले भविष्यका लागि मार्ग प्रशस्त गरेको बताए । उनले स्वच्छ र प्रदूषणमुक्त नेपाल निर्माणमा कम्पनी प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

एमएडब्लू वृद्धि कमर्शियलसँग देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १७१ भन्दा बढी द्रुत चार्जिङ स्टेशनहरूको सञ्जाल रहेको छ । यसले विद्युतीय सवारीसाधनको प्रयोगलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

ललितपुरबाट सुरु भएको यो पहलले विद्युतीय व्यावसायिक सवारीसाधन केवल भविष्यको अवधारणा नभई वर्तमानमै व्यवहारिक समाधानका रूपमा स्थापित हुन सक्ने स्पष्ट संकेत दिएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category