npl.977 Nepal News Stream

GandakNews logo GandakNews

वाम एकताभन्दा आत्मसमीक्षा आवश्यक : प्रदीप ज्ञवाली

गण्डक न्यूज 8 hours ago

नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले संस्थागत निर्णयबीनै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै अहिलेको मुख्य आवश्यकता दलहरूले आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटपछि वाम एकताको चर्चा चुलिएसँगै ज्ञवालीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले वर्तमान चुनौती वामपन्थी वा कम्युनिष्ट आन्दोलनको सीमाभित्र मात्र नरहेको उल्लेख गर्दै नेपालले लामो संघर्षपछि हासिल गरेको प्रगतिशील लोकतान्त्रिक स्पेस साँघुरिँदै गएको बताएका छन्। साथै सर्वसत्तावादी शासनशैलीतर्फ झुकाव बढ्दै गएको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी अर्थतन्त्रको सट्टा नवउदारवादी बजारमुखी प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ छ।

ज्ञवालीले स्थापित विधि, कानुनी प्रणाली र लोकतान्त्रिक संस्थाको स्थानमा ‘तिलस्मी नायक’हरूले चमत्कारिक रूपमा सुनौलो दिन ल्याइदिने भ्रमले समाजको ठूलो हिस्सा प्रभावित भइरहेको टिप्पणी गरेका छन्। त्यसैले अहिलेको संकटलाई फराकिलो दृष्टिकोणबाट हेरेर सोहीअनुसार नीति अवलम्बन गर्नुपर्ने उनले बताएका छन्।

उनले एमालेसहित सबै राजनीतिक दल समीक्षा प्रक्रियामा रहेको उल्लेख गर्दै एमालेले पनि धक्का खाएको, विभिन्न समूह एकीकृत गरेर बनेको नेकपाले पनि चुनौती भोगेको र विद्रोहबाट बनेका अन्य शक्तिहरूले समेत समस्या झेलेको बताएका छन्।

ज्ञवालीका अनुसार अहिलेको पहिलो कदम संकटको गाम्भीर्यबोध, निर्मम आत्मसमीक्षा, व्यापक सुधार र पुनर्गठनको विधिवत् प्रक्रिया अघि बढाउनु हो। “पहिले आफू सुदृढ भएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुन्छ,” उनले उल्लेख गरेका छन्।

उनले अहिलेको खाँचो वाम एकताको चर्चा होइन, आफ्नै कमजोरी नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको निष्कर्ष निकालेका छन्।

Read more news from GandakNews

Explore by Source or Category