npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

एमालेको झण्डा जलाएको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

Saral Patrika 10 hours ago

काठमाडौँ। नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको हो।

बिहीबार तुलसीपुरको वीरेन्द्र चोकमा रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न भेला भएको भिडमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको उनले बताए।

निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पर्ने खालका गतिविधि नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ। साथै, सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार देखाउन समेत प्रहरीले अनुरोध गरेको छ।

Read more news from Saral patrika

Explore by Source or Category