इमरान खानलाई १७ वर्ष जेल सजाय तोकिएपछि पाकिस्तान अशान्त
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् ।
उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिएका छन् । हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानुनी टोलीमार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सामूहिक सडक आन्दोलनको तयारी सुरु गर्न निर्देशन दिएका हुन् ।
‘सम्पूर्ण राष्ट्रले आफ्ना अधिकारका लागि उठ्नुपर्छ’, उनको सन्देशमा उल्लेख छ ।
इमरान खानले अदालतको फैसलाले आफूलाई आश्चर्यचकित नगरेको बताउँदै यसलाई विगत तीन वर्षयता आइरहेका ‘आधारहीन निर्णयहरूको निरन्तरता’ भएको दाबी गरेका छन् । उनका अनुसार न्यायाधीशले प्रमाण बिना र कानूनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाएका हुन् र उनको कानूनी टोलीको कुरा समेत नसुन्ने व्यवहार गरिएको छ ।
यसै सन्दर्भमा उनले इन्साफ वकिल फोरम तथा समग्र कानुनी समुदायले संवैधानिक सर्वोच्चता र विधिको शासनको रक्षामा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । न्यायबिना आर्थिक प्रगति सम्भव नहुने उनको धारणा छ ।
पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)ले आधिकारिक विज्ञप्ति जारी गर्दै फैसलालाई ‘स्पष्ट रूपमा असंवैधानिक, अवैध, दुर्भावनापूर्ण र राजनीतिक प्रतिशोधको चरम रूप’ भनेको छ । पार्टीका नेताहरूले यो सजाय खानको जेल अवधि लम्ब्याउने र राजनीतिक दबाब कमजोर पार्ने उद्देश्यले गरिएको आरोप लगाएका छन् । उनीहरूले अधीनस्थ न्यायपालिकामार्फत राजनीतिक उत्पीडन भइरहेको दाबी पनि गरेका छन् ।
पिटिआईका महासचिव सलमान अकरम राजाले वरिष्ठ नेता असद कैसरसँग संयुक्त पत्रकार सम्मेलन गर्दै इमरान खानले अदालत कक्षमै आफ्ना प्रमुख वकिल ब्यारिस्टर सलमान सफदरमार्फत राष्ट्रका लागि सन्देश दिएको जानकारी दिए । उनले खानको भनाइ उद्धृत गर्दै भने, ‘म दृढ छु र कसैसँग माफी माग्ने छैन ।’ राजाका अनुसार यो मुद्दा प्रतिज्ञापत्रमा मात्र आधारित छ र ठोस प्रमाण तथा साक्षीको अभाव छ ।
यो मुद्दा साउदी क्राउन प्रिन्सबाट प्राप्त करिब सात करोड १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यको बुल्गारी गहना सेटको अवमूल्यनसँग सम्बन्धित रहेको छ । इमरान खान र बुशरा बिबीलाई आपराधिक विश्वासघात र भ्रष्टाचारसम्बन्धी धाराअन्तर्गत दोषी ठहर गरिएको हो ।