npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

साढे ८१% ले बढ्यो माथिल्लो त्रिशूली-१ हाइड्रोपावरको लागत, रु. ६६ अर्ब चाहिने

केशवप्रसाद भण्डारी 1 day ago

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनासम्बन्धी पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले आयोजनाको बढेर रु. ६६.१ अर्ब पुग्ने अनुमान गरेको छ। यो आयोजनाको प्रारम्भिक लागत अनुमान रु. ३६.४ अर्ब रहेकोमा अहिले ८१.५ प्रतिशतको उल्लेख्य वृद्धि भएको देखिन्छ।

पुनःमूल्यांकन प्रतिवेदनमा भौतिक संरचनासँगै निर्माण लागत थपिएपनि थप प्रभावित घरधुरी भने छैनन्। प्रतिवेदनमा पहुँच सुरुङको लम्बाइ थपिएको, बेली ब्रिजको संख्या थप भएको, आयोजनाको मुख्य संरचनाहरुमा परिवर्तन भएको लगायतका कारणले लागत अनुमान वृद्धि भएको उल्लेख छ।

नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा तयार गरिएको यो प्रतिवेदनले सन् २०१३ मा स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसँग तुलना गर्दै अध्यावधिक परिमार्जनहरु प्रस्तुत गरेको छ। वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रतिवेदनमाथि १० दिन भित्र आफ्ना गुनासा तथा सुझाव पेस गर्न सरोकारवालासँग अनुरोध गरेको छ।

निर्माणाधीन यो आयोजना २१६ मेगावाट क्षमताको यो आयोजना रसुवा जिल्लाको आमाछोददङमो गाउँपालिका वडा नं. १ र २, गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६, उत्तरगया गाउँपालिका वडा नं. १ र कालिका गाउँपालिका वडा नं. १ मा पर्दछ । यसको ग्रस हेडको लम्बाइ प्रारम्भिक मूल्यांकनमा ३५० मिटर रहेकोमा अहिले घटेर ३४२.६ मिटरमा सीमित भएको छ। वार्षिक उर्जा उत्पादन १ हजार ४४० गिगावाट आवरबाट अहिले थपिएर १ हजार ४५६.४ गिगावाट आवरमा पुगेको छ।

मुख्य संरचनाहरुमा पनि प्रतिवेदनमा परिवर्तन सुझाइएको छ। यसअनुसार साबिकको अडिट–२ खारेज गरिएको छ। अडिट–१ र अडिट–४ मा परिमार्जन, तीनवटा नयाँ बेली ब्रिज थपिएको, डाइभर्सन सुरुङ, हेडरेस सुरुङ, सर्ज ट्यांक, टेलरेस सुरुङ आदिमा परिमार्जन गरिएको उल्लेख छ।

आयोजनका लागि सुरुआतमा १०८.६१ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहण गर्नुपर्ने भनिएकोमा अहिले घटेर ७३.४४ हेक्टर कायम हुने भएको छ।

पुनः मूल्यांकन प्रतिवेदनले प्रत्यक्ष प्रभावित परिवार नरहेको उल्लेख गरेको छ। प्रारम्भिक प्रतिवेदनमा ४१ घरधुरी प्रभावित हुने भनिएको थियो।
यस जलविद्युत आयोजनाको पहिलो वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मिति २०६९ साल फागुन ६ गते वन मन्त्रालयबाट स्वीकृत गरिएको थियो।

विवरण वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (२०१३) वातावरणीय प्रभाव पुनः मूल्याङ्कन प्रतिवेदन (२०२५) कैफियत
क्षमता २१६ मे.वा. २१६ मे.वा. अपरिवर्तित
ग्रस हेड ३५० मि. ३४२.६ मि. परिमार्जित
वार्षिक ऊर्जा १४४० GWh १४५६.४ GWh वृद्धि
स्थायी जग्गा ४७.५८ हे. ३५.६५ हे. घटाइएको
अस्थायी जग्गा ५६.८८ हे. ३९.७९ हे. घटाइएको
कुल जग्गा १०८.६१ हे. ७३.४४ हे. उल्लेख्य कमी
प्रभावित परिवार ४१ सामाजिक प्रभाव न्यून
लागत रु. ३६.४ अर्ब रु. ६६.१ अर्ब
Read more news from Insurance Khabar

Explore by Source or Category