PalikaNews
लहानमा सुरक्षित खानेपानीको पहुँच विस्तार, पाँच हजारभन्दा बढी घरधुरी लाभान्वित
लहान – लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ । दलित कल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल र क्लबको साझेदारीमा सञ्चालित ‘विकन’ परियोजनामार्फत खानेपानी सेवा विस्तार गरिएको हो ।
सन् २०२४ मार्चदेखि २०२५ मार्चसम्म तीन सय दलित घरधुरीमा धारा जडान हुँदा एक हजार ५०६ जना लाभान्वित भएका छन् । अन्य समुदायसमेत गरी हालसम्म पाँच हजार ४०० घरधुरीमा धारा जडान भइसकेको र यसले नगरपालिकाका कुल घरधुरीमध्ये २६ प्रतिशतमा सुरक्षित खानेपानीको पहुँच पुगेको विकन परियोजनाका कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनीले जानकारी दिए ।
खानेपानीको पहुँचसँगै विद्यालय र स्वास्थ्य संस्थामा सरसफाइ तथा स्वच्छता सुधारमा पनि परियोजनाले योगदान दिएको छ । यस वर्ष नौ वटा विद्यालयमा सुरक्षित खानेपानी तथा लैङ्गिक र अपाङ्गतामैत्री शौचालय निर्माण हुँदा दुई हजार ६२८ विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । यस्तै, दुई वटा स्वास्थ्य संस्थामा निर्माण गरिएका संरचनाबाट दैनिक औसत ४६ जना र मासिक एक हजार १२ जना सेवाग्राहीले सेवा लिइरहेका छन् ।
विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुनिश्चित गर्न तीन तारा पद्धति प्रमाणीकरणका लागि अनुगमन गरिएको र त्यसपछि सात वटा विद्यालयलाई पालिकाबाट एक तारा प्रमाणपत्र प्रदान गरिएको क्लबले जनाएको छ ।
परियोजनाअन्तर्गत नगरपालिका र वडासँगको साझेदारीमा धारा जडानका लागि बजेट विनियोजन गरिएको छ । वडा नं २, १४ र १७ बाट विभिन्न घरधुरीका लागि आर्थिक सहयोग उपलब्ध गराइएको छ भने नगरपालिकाले २७७ दलित घरधुरीलाई प्रतिघरधुरी रु तीन हजार सात सय २० का दरले कुल रु १० लाख ३० हजार ४४० सहयोग प्रदान गरेको छ ।
विद्यालयमा सञ्चालन गरिएका स्वस्थकर व्यवहार परिवर्तन कक्षापछि विद्यार्थीको नियमित उपस्थिति बढ्नुका साथै साबुनपानीले हात धुने बानीमा उल्लेखनीय सुधार आएको क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले बताए । उनका अनुसार जहदी र पडरीया समुदायमा पनि शौचालय प्रयोग र सरसफाइमा सकारात्मक परिवर्तन देखिएको छ ।
क्लबका अनुसार चालु आर्थिक वर्षमा थप चार वटा विद्यालय र एउटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी संरचना निर्माण गरिनेछ । साथै १० वटा विद्यालयमा तीन तारा पद्धति अभिमुखीकरण, समुदायमा स्वस्थकर व्यवहार कक्षा सञ्चालन र ४०० दलित परिवारमा धारा जडान गर्ने योजना रहेको छ । लहानमा विकन परियोजना सन् २०१८ देखि सञ्चालनमा रहेको छ ।