npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

सीके प्रसाईँ स्मृति दिवसमा प्रजातान्त्रिक योद्धा सिटौलाको सम्मान

Saral Patrika 14 hours ago

बिर्तामोड । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा डिल्लीप्रसाद सिटौला बिर्तामोडमा सम्मानित भएका छन् । सीके चिन्तन प्रतिष्ठान झापाले प्रजातान्त्रिक समाजवादका विचारक एवं चिन्तक सीके प्रसाईँको ३२ औँ स्मृति दिवसको अवसरमा सिटौलालाई विशेष अभिनन्दनसहित सम्मान गरेको हो ।

प्रजातन्त्र र समाजवादका लागि जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै सिटौलालाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधीरकुमार सिवाकोटीले सम्मान गरे । प्रतिष्ठानका सहसचिव खगेन्द्र प्रसाईंले सिटौलाको राजनीतिक जीवनी र सङ्घर्ष समेटिएको अभिनन्दन पत्र वाचन गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले सिटौला जस्ता निष्ठावान् योद्धाहरूको सम्मानले नै नयाँ पुस्तालाई प्रजातान्त्रिक मूल्य–मान्यताप्रति प्रेरित गर्ने बताए । सीके प्रसाईंको विचार र सिद्धान्तलाई पछ्याउँदै सिटौलाले समाज परिवर्तनमा खेलेको भूमिका अविस्मरणीय रहेको वक्ताहरूको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईंको अध्यक्षतामा भएको उक्त समारोहमा कोशी प्रदेश सभापति उद्धव थापा, पूर्वमन्त्री खगेन्द्र प्रसाईं, वरिष्ठ साहित्यकार कृष्ण धरावासी र अधिवक्ता लीला उदासी लगायतले सिटौलाको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । सिटौलालाई सम्मान गरिएको यस घडीमा सीके प्रसाईंको व्यक्तित्व र प्रजातान्त्रिक समाजवादका बारेमा समेत गहन छलफल गरिएको थियो ।

को हुन् सीके प्रसाईं ?

नेपाली कांग्रेसको इतिहासमा सिद्धान्त र निष्ठाको राजनीति गर्ने अग्रणी व्यक्तित्व हुन्, स्व. छत्रमान केशरी (सीके) प्रसाईं, जसलाई धेरैले ‘भरतबाबु’ भनेर चिन्छन्। वि.सं. २०१३ सालदेखि कांग्रेसमा आबद्ध भएका प्रसाईंले पद र प्रतिष्ठाभन्दा माथि उठेर लोकतन्त्रका लागि आफ्नो जीवन समर्पण गरे।

वि.सं. २०१४ को भद्र अवज्ञा आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका प्रसाईंले कठोर जेल जीवन र लामो निर्वासन भोगेका छन्। २०१६ सालमा कारागार बसेका उनी २०१७ देखि २०२७ सम्म १० वर्ष भारत निर्वासनमा रहे। त्यसपछि पनि २०३२ सालसम्म पटक–पटक जेल जीवन बिताउँदै उनले झापामा लोकतान्त्रिक आन्दोलनको जग बसाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

प्रसाईं केवल राजनीतिक नेता मात्र नभई एक प्रखर बौद्धिक र लेखक पनि थिए। उनका ‘आजको सरल राजनीति’, ‘व्यावहारिक राजनीतिको प्रारम्भिक रूपरेखा’ र ‘मन जे मान्यो’ जस्ता कृतिहरू नेपाली राजनीतिक दर्शनका महत्त्वपूर्ण दस्तावेज मानिन्छन्। २०४७ सालको निर्वाचनमा पराजित भएपछि कुनै पदको आकाङ्क्षा नराखी सिद्धान्तको राजनीतिमा अडिग रहनु उनको राजनीतिक चरित्रको उच्च नमुना हो।

झापा कांग्रेसको सङ्गठन निर्माणका आधारस्तम्भ मानिने प्रसाईंको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन र उनले देखाएको वैचारिक बाटोलाई आत्मसात् गर्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने देखिन्छ।

Read more news from Saral patrika

Explore by Source or Category