दुर्लभ खनिजको वैकल्पिक स्रोत खोज्न जापान मध्य एसियातर्फ आकर्षित, १९ अर्ब डलर लगानी गर्ने
काठमाडौं। जापानले आगामी ५ वर्षमा मध्य एसियामा करिब १९ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्य तय लिएको छ।
जापान र मध्य एसियाका ५ राष्ट्रबीच शनिबार टोकियोमा सम्पन्न ऐतिहासिक शिखर बैठकमा जापानले यो लक्ष्य तय गरेको हो। बैठकमा स्रोतसम्पन्न मध्य एसियामा जापानको आर्थिक प्रभाव बढाउने नयाँ मार्गचित्र तय गरिएको छ।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका नेतासँग पहिलो शिखर बैठकको अध्यक्षता गरेकी थिइन्। द बिजनेस टाइम्सका अनुसार जापान दुर्लभ खनिजका वैकल्पिक स्रोत खोज्न मध्य एसिया क्षेत्रतर्फ आकर्षित भएको हो।
जापानले चीनसँग जोडिएका जोखिम घटाउने उद्देश्य राखेको छ। यो रणनीति अमेरिका र युरोपेली संघको नीतिसँग मिल्दोजुल्दो छ।
बैठकपछि संयुक्त वक्तव्यमा स्रोत र उर्जाले भरिपूर्ण मध्य एसियाले अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नुपर्ने उल्लेख छ। नेताहरूले आपूर्ति शृंखला सुरक्षाका लागि सहकार्य बढाउने र आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता जनाएका छन्।
होक्काइदो विश्वविद्यालयका एक प्राध्यापकले बैठकले मध्य एसिया क्षेत्रमा जापानको उपस्थिति बलियो बनाएको बताए। टोकियोले जापानी कम्पनीलाई लगानी गर्न प्रोत्साहन गरे पनि व्यवसायीहरू अझै सतर्क छन्।
यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले जुनमा अस्ताना भ्रमण गरेका थिए। चीनले पूर्वाधार लगानीमार्फत प्रमुख व्यावसायिक साझेदारको रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ।
काजकस्तान विश्वकै ठूलो युरेनियम उत्पादक हो। उज्बेकिस्तानमा ठूलो सुन भण्डार छ। तुर्कमेनिस्तान ग्यासमा धनी छ। पहाडी किर्गिस्तान र ताजिकिस्तानले पनि नयाँ प्राकृतिक स्रोत परियोजना विकास गरिरहेका छन्।
The post दुर्लभ खनिजको वैकल्पिक स्रोत खोज्न जापान मध्य एसियातर्फ आकर्षित, १९ अर्ब डलर लगानी गर्ने appeared first on BIZMANDU.