npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

मार्चमा परिवारआधारित अधिकांश श्रेणीको ग्रिनकार्ड र भिसा मिति स्थिर, नेपाललगायत ७५ देशमा भिसा स्थगन जारी

किशोर पन्थी 5 hours ago

मार्च महिनामा पनि परिवारमा आधारित ग्रिनकार्डका प्रायः सबै श्रेणीमा अमेरिकाभित्र रहेका व्यक्तिहरूले ग्रिनकार्ड आवेदन फाइल गर्ने तथा बाहिर रहेका व्यक्तिहरूले भिसा अन्तर्वार्ता पाउने मितिमा स्थिरता कायम रहेको छ। ग्रिनकार्डवाहकका अमेरिकाभित्र रहेका दम्पत्ति र २१ वर्षमुनिका बच्चाबच्चीका लागि ग्रिनकार्ड फाइल गर्ने मितिमा एक महिनाको अग्रता आए पनि अन्य सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने तथा भिसा अन्तर्वार्ता पाउने मिति यथावत् रहेको छ। अमेरिकाबाहिर रहेका व्यक्तिहरूका हकमा सबै श्रेणीमा भिसा अन्तर्वार्ता मिति स्थिर रहेकाले प्रतीक्षा अवधि अझै लम्बिएको छ।

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको मार्चको भिसा बुलेटिनअनुसार, २१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा भिसा अन्तर्वार्ताका लागि प्राथमिकता मिति ८ नोभेम्बर २०१६ नै कायम रहेको छ। अर्थात् ८ नोभेम्बर २०१६ भन्दा अगाडि आई–१३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले मार्चमा भिसा अन्तर्वार्ता वा आप्रवासी भिसा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, ग्रिनकार्डवाहकका दम्पत्ति र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तर्वार्ताका लागि प्राथमिकता मिति मार्चमा पनि १ फेब्रुअरी २०२४ नै कायम रहेको छ। अर्थात् १ फेब्रुअरी २०२४ भन्दा अगाडि आई–१३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्।

ग्रिनकार्डवाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि पनि प्राथमिकता मितिमा कुनै परिवर्तन भएको छैन। यस श्रेणीमा १ डिसेम्बर २०१६ भन्दा अगाडि आई–१३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले मार्चमा भिसा पाउन सक्नेछन्।

अमेरिकी नागरिकका विवाहित छोराछोरीको सन्दर्भमा पनि मार्चमा प्राथमिकता मिति ८ सेप्टेम्बर २०११ नै कायम गरिएको छ। ८ सेप्टेम्बर २०११ भन्दा अगाडि आई–१३० पिटिसन दर्ता गरेका आवेदकहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्।

त्यस्तै, अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीको हकमा मार्चका लागि प्राथमिकता मिति ८ जनवरी २००८ नै कायम गरिएको छ। उक्त मितिभन्दा अगाडि आई–१३० पिटिसन दर्ता भएकाहरूले मात्र मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्।

अमेरिकाभित्र रहेका व्यक्तिहरूका सन्दर्भमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ वर्षमुनिका बच्चाबच्चीका लागि ग्रिनकार्ड फाइल गर्ने मितिमा एक महिनाको अग्रता आएको छ। अर्थात् २२ फेब्रुअरी २०२६ भन्दा अगाडि आई–१३० पिटिसन फाइल गरेका व्यक्तिहरूले मार्चमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन्। अमेरिकाभित्र रहेका ग्रिनकार्डवाहकका २१ वर्ष नाघेका अविवाहित छोराछोरीका लागि प्राथमिकता मिति १५ मार्च २०१७ नै कायम गरिएको छ।

अमेरिकाभित्र रहेका अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीका हकमा पनि मिति यथावत् रहेको छ। यस श्रेणीमा १ मार्च २००९ भन्दा अगाडि आई–१३० पिटिसन फाइल गरेका व्यक्तिहरूले मार्चमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन्। ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल नभएकाले अमेरिकाभित्र रहेका आवेदकहरूको प्रतीक्षा अवधि अझै बढेको छ।

अमेरिकी नागरिकका २१ वर्षभन्दा माथिका अविवाहित तथा विवाहित छोराछोरीका लागि अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि कुनै परिवर्तन भएको छैन। मार्च महिनामा ती मिति क्रमशः १ सेप्टेम्बर २०१७ र २२ जुलाई २०१२ नै कायम रहेका छन्।

यसैबीच, जनवरी २१ देखि लागू हुनेगरी अमेरिकी विदेश मन्त्रालयले नेपाललगायत ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न स्थगन लगाएको छ। त्यसका कारण भिसा अन्तर्वार्ता लगायतका सबै प्रक्रिया पूरा भए पनि भिसा जारी गरिएको छैन। फलस्वरूप सबै प्रक्रिया पूरा गरिसकेका व्यक्तिहरू समेत भिसा लिएर अमेरिका जान पाएका छैनन्। जनवरी २१ भन्दा अगाडि भिसा प्राप्त गरिसकेकाहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको छैन।

Read more news from KHASOKHAS

Explore by Source or Category