PalikaNews
भक्तपुर थिमिः बिस्केट जात्राको रौनक
काठमाडौँ, — भक्तपुरमा प्रसिद्ध बिस्केट जात्राको अवसरमा आज हजारौँ श्रद्धालु तथा आन्तरिक एवं बाह्य पर्यटकको भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन परम्परागत रूपमा मनाइने यो जात्रा बिहानैदेखि सुरु भई दिनभर उत्सवमय वातावरणमा सञ्चालन भएको हो ।
भक्तपुर को भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तको साँझ उठाइएको ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो आज दर्शनका लागि विशेष आकर्षण बनेको छ । लिङ्गो हेर्दा शत्रु नाश हुने, सहकाल आउने र मनोकांक्षा पूरा हुने जनविश्वासका कारण बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो।
परम्पराअनुसार वर्षको अन्त्यमा उठाइएको लिङ्गो आज दिनभर पूजा–अर्चना र मेलापछि साँझ ढालिने कार्यक्रम रहेको छ।
यसैबीच भक्तपुर आसपासका विभिन्न धार्मिक स्थलहरूमा पनि ठूलो भीड देखिएको छ। दधिकोट–सिरुटार क्षेत्रको संगमस्थलमा रहेको चरखण्डी महादेव मन्दिरमा बिहानैदेखि स्नान र पूजाका लागि भक्तजनको लाम लागेको छ।
चरखण्डी महादेव मन्दिर मा कुण्डमा स्नान गरी पूजा गरेमा रोग निवारण हुने विश्वासका कारण बिहान ४ बजेदेखि नै भक्तजनको उपस्थिति बढेको स्थानीयले बताएका छन् ।
त्यस्तै मध्यपुर थिमि मा पनि चान्हेसिया (रात्रि) जात्रा आज बिहान सम्पन्न भएको छ। लायकू दरबारदेखि बालकुमारी मन्दिरसम्म विभिन्न देवगणको खट यात्रा, धिमे बाजा र धार्मिक परिक्रमा गरी जात्रा सम्पन्न गरिएको हो ।
थिमि क्षेत्रमा विष्णुवीर र सिद्धिकाली जात्रा पनि परम्परागत विधिअनुसार सम्पन्न भएका छन् । देवगणलाई विभिन्न टोल परिक्रमा गराई सिन्दूर चढाएर आ–आफ्नो स्थानमा विराजमान गराइएको स्थानीयले जनाएका छन् ।
सिरुटार र दधिकोट क्षेत्रमा गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा तथा पूजा–अर्चना गरिएको छ । टोल–टोलमा देवगण परिक्रमा गराई स्थानीयले श्रद्धापूर्वक जात्रा सम्पन्न गरेका छन् ।
परम्परा, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको बिस्केट जात्रा तथा सम्बन्धित पर्वहरूले आज भक्तपुर उपत्यकालाई पूर्ण रूपमा उत्सवमय बनाएको छ।