पार्टीको निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु -गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यक्तिहरूसँग साझेदारी गरेको भन्ने आरोपमा एउटै कम्पनीमा सयौँ सेयरहोल्डर हुने र सेयर किन्नुलाई सबैसँगको व्यक्तिगत साझेदारी मान्न नसकिने तर्क गरेका छन् ।
बिचाैलिया दीपक भट्टसँग जोडिएको विषयमा आइतबार एक स्पष्टीकरण सार्वजनिक गर्दै उनले भनेका छन्- ‘“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन।’
आफूमाथि लागेका आरोपहरूलाई ‘सुविधा अनुसारको व्याख्या’ को संज्ञा दिँदै उनले प्रमाणका आधारमा निर्णय हुनुपर्नेमा जोड दिए । गृहमन्त्री गुरुङले पार्टीले गर्ने हरेक निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न आफू तयार रहेको समेत स्पष्ट पारेका छन् । “हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ,” उनले भनेका छन् ।