npl.977 Nepal News Stream

GandakNews logo GandakNews

यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड

गण्डक न्यूज 1 day ago

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए। “रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ,” उनले भने।

संयोजक प्रचण्डले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए। जनतासँगको भेटघाटलाई उनले विजय उत्सवसँग तुलना गरे। “कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन्। मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ,” उनले भने।

उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गर्नुभयो। चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको बताउँदै उनले भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्ति बीच जनमत संग्रह हुने उल्लेख गरे।

“मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,” उनले भने। आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे।

उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गरे। “यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ,” उनले उल्लेख गरे।

भौतिक कठिनाइका बाबजुद जनताबीच पुग्दा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताउँदै प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना जिल्ला बनाउने प्रतिबद्धता दोहोर्याए।

Read more news from GandakNews

Explore by Source or Category