npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

राजनीतिक दलको घोषणापत्रमा खेलकुद: पूर्वाधार र पुरस्कारमा जोड, कुन दलको केमा जोड?

Mukunda Ghimire 5 hours ago

काठमाडौं। निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणापत्र लिएर चुनावी मैदानमा उत्रिएका छन्। राजनीतिक, आर्थिक र संरचनागत विषयहरुमा राजनीतिक दलहरु केन्द्रित रहँदा घोषणा पत्रमै खेलकुद क्षेत्रले पनि आश्वासनहरु पाएको छ।

केही राजनीतिक दलहरुले विस्तृतमा खेलकुद विकासको योजना अघि बढाउँदा केहीले सामान्य हिसाबका तर व्यवाहारिक पक्षहरुलाई समेटेका छन्।

अधिकांश दलहरुमा खेल पूर्वाधार निर्माण, राष्ट्रिय खेलकुदको नियमित आयोजना, साहसिक खेलकुदलगायतमा जोड दिँदा नेपाली कांग्रेसले खेलकुदमा नीतिगत विषय पनि उठान गरेको छ। एमालेको घोषणा पत्रमा केही व्यवाहारिक पक्षमा फोकस हुँदा अन्य दलको सतही किसिमका योजना छन्। नेपाली कम्युनिस्ट पार्टीले लोकप्रिय कुराहरुलाई अघि सार्दा खेलकुदको मार्गचित्र स्पस्ट गर्न सकेको छैन।

नेपाली कांग्रेस: खेल पर्यटनदेखि कूटनीतिसम्म

नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नगरी राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मेरुदण्ड बनाउने उल्लेख गरेको छ।

खेलकुद ऐनलाई ६ महिनाभित्र परिवर्तन गरेर समयानुकूल बनाउने र राष्ट्रिय खेलकुद परिषदको पुनर्संरचना गरेर खेल क्षेत्रका योग्य ब्यक्तिलाई नेतृत्वमा पुग्ने व्यवस्था मिलाउने जनाएको छ। संरचनामा ‘एक प्रदेश एक अत्याधुनिक रंगशाला’ बनाउने र हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद गराउने उल्लेख छ।

व्यवसायिक उद्योग बनाउन सम्भावना भएका फुटबल, क्रिकेट, भलिबल, बास्केटबलजस्ता खेलमा निजी क्षेत्रको लगानीलाई विशेष सहुलियत दिने उल्लेख छ।

खेलकुदलाई सफ्ट पावरका रुपमा प्रयोग खेल पर्यटनमा जोड्ने उल्लेख छ। त्यस्तै, क्रिकेट कूटनीतिका माध्यमबाट क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि ‘तटस्थ खेल आयोजना स्थलका रुपमा विकास गरिने बताइएको छ।

त्यस्तै, ‘खेलमै जीवन, खेलमै भविष्य’, ‘डिजिटल मैदान’, ‘विद्यालयदेखि रंगशालासम्म’, ‘मिसन पदक’, ‘खेलको वर्गीकरण’ र सीप विश्वको खेल नेपालको जस्ता योजना अघि सारेको छ।

त्यसबाहेक एडभेन्चर स्पोर्ट्समा पनि जोड दिँदै ट्रेल रेस, रक क्लाइमिन, प्याराग्लाइडिङ, र्‍याफ्टिङ जस्ता खेललाई प्राथमिकतामा राख्ने जनाएको छ।

एमालेको घोषणापत्र: खेल पूर्वाधारदेखि प्रतिभा पहिचानसम्म

मुख्यतः विद्यालयस्तरदेखि नै खेलाडी पहिचान गर्ने, कीर्तिपुरस्थित क्रिकेट रंगशालाको दोस्रो चरण सम्पन्न गर्ने, र खेल पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ। खेलाडीको वृत्ति विकास र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको व्यवस्था पनि उल्लेख छ। तर कांग्रेसजस्तो संरचनागत सुधारको विस्तृत खाका छैन।

एमालेले पनि राष्ट्रिय खेलकुद नियमित र निर्धारित मितिमै गर्ने उल्लेख गरेको छ। यद्यपि पछिल्लो पटक एमाले र कांग्रेसको गठबन्धकै सरकार हुँदा पनि राष्ट्रिय खेलकुद प्राथमिकतामा नपर्दा पटकपटक सर्दै आएको थियो। कर्णालीमा हुनुपर्ने राष्ट्रिय खेलकुद अनिश्चित छ।

एमालेले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई आकर्षक पुरस्कार र सम्मान दिने साथै सम्भावना बोकेका खेलाडीको खोजीमा जोड दिने जनाएको छ।

खेलकुदबारे रास्वपा: पारदर्शी बजेट, खेलाडीलाई पेन्सन

रास्वपाले आफ्नो घोषणापत्रमा खेलकुदलाई मनोरञ्जन र भर्ती केन्द्रका रुपमा मात्र नभइ राष्ट्रिय एकता र आर्थिक समृद्धिसँग जोड्ने जनाएको छ। उसले अधुरा रंगशाला निर्माण पूरा गर्ने र सातै प्रदेशमा अत्याधुनिक रंगशाला बनाउनेमा जोड दिएको छ।

त्यस्तै, खेलाडी प्रतिभा पहिचानका लागि विद्यालय स्तरबाटै लाग्ने जनाएको छ। खेलकुदको नेतृत्वमा राजनीतिक नियुक्ति पूर्णत खारेज गरेर पेशागत नेतृत्व ल्याउने उल्लेख छ। त्यस्तै, पारदर्शी बजेट व्यवस्थापनमा जोड दिँदै भ्रमणमा भन्दा खेलाडीको डाइट, प्रशिक्षण र प्रविधिमा लगानी बढाउने जनाएको छ। त्यस्तै, खेलाडी पेन्सन कोष, स्वास्थ्य बिमालगायतमा काम गर्ने उल्लेख छ।

रास्वपाको घोषणा पत्रमा पनि साहसिक खेलाडीमा जोड दिने र दक्षिण एसियाकै खेलकुद हबका रुपमा नेपालको विकास गर्ने उल्लेख छ।

अन्य दलको के छ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्रमा खेलाडी र खेलकुदलाई उच्च प्राथमिकता दिँदै प्रमुख खेलहरुको अन्तर्राष्ट्रियस्तरका रंगशाला बनाउने उल्लेख गरेको छ।

झापाको कचनकवल (समुन्द्री सतहको तह) र जुम्ला (हिमरेखाको तह) मा इन्डोर र आउटडोर प्रशिक्षक केन्द्र निर्माण गर्ने, साहसिक खेलकुदमा जोड दिने, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्था गर्ने, खेलकुद शिक्षक अनिवार्य गर्ने जस्ता विषय घोषणापत्रमा उल्लेख छन्।

अर्को मुख्य दल नेपाल कम्युनिस्ट पार्टीले भने घोषणापत्रमा खेलाडीको सम्मान र पुरस्कार दोब्बर गर्ने, खेलकुदमा बजेट र लगानी बढाउने, व्यवसायिक लिगलाई प्रोत्साहन गर्नेलगायतका विषय उल्लेख छन्।

उज्यालो नेपाल पार्टीले ‘उज्यालो खेल मैदान’ भन्दै निर्माणाधीन स्टेडियमहरुको निर्माण सम्पन्न गर्ने र अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने उल्लेख गरेको छ। उसले राष्ट्रिय खेलाडीलाई २५ हजार र अन्तर्राष्ट्रिय खेलाडीलाई ८० हजार पेन्सनको व्यवस्था गर्ने जनाएको छ।

The post राजनीतिक दलको घोषणापत्रमा खेलकुद: पूर्वाधार र पुरस्कारमा जोड, कुन दलको केमा जोड? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category