npl.977 Nepal News Stream

Nepali Link

Nepali Link

Contents

भूपू गोर्खा मुद्दामा बेलायती कनिष्ठ मन्त्रीको राजनीतिक दम्भ !

Nabin Pokharel 4 hours ago

बेलायत जस्तो संसदीय लोकतन्त्रमा राज्य सञ्चालनको स्पष्ट संरचना छ। प्रधानमन्त्री सरकार प्रमुख हुन् र Secretary of State कहलिने वरिष्ठ क्याबिनेट मन्त्रीहरू नीति, निर्णय र जवाफदेहिता वहन गर्छन्। कनिष्ठ राज्यमन्त्रीहरू तिनै मन्त्रीका सहायक मात्र हुन्—निर्णयकर्ता होइनन्। तर, भूपू ब्रिटिश गोर्खाको ऐतिहासिक, नैतिक र कानुनी मुद्दामा बेलायत सरकारले जानाजानी एक कनिष्ठ उपमन्त्री लाई अगाडि सारेर वार्तालाई तल्लो तहमा झार्ने रणनीति अपनाएको छ। यो कूटनीति होइन, सत्ता दुरुपयोग र राजनीतिक छल हो।

अहिले गोर्खा सैनिकको मुद्दामा निर्णयक तहमा बसेजस्तो गरेर भाषण ठोक्ने, दबाब सिर्जना गर्ने र सत्यलाई तोडमोड गर्ने कार्य LOUISE SANDHER-JONES MP ले गरिरहेकी छन्। उनको अभिव्यक्ति केवल व्यक्तिगत विचार होइन; यो ब्रिटिश राज्यको औपचारिक अहंकार र गोर्खाप्रतिको दीर्घकालीन हेपाइको निरन्तरता हो।

इतिहासमाथिको अपमान
उपमन्त्रीले गोर्खा पेन्सनलाई ‘समुदायका केही सदस्यको मात्र गुनासो’ भन्नु सरासर इतिहासमाथिको अपमान हो। बेलायतको साम्राज्य जोगाउन गोर्खाले दिएको रगत, पसिना र बलिदान कुनै ‘गुनासो’ होइन, यो राज्यद्वारा गरिएको सम्झौता उल्लङ्घनको अभियोग हो।

तीन दशकअघि ४५ हजार बढी भूपू गोर्खा थिए। आज पनि यो मुद्दा कम्तीमा दुई लाख नेपाली नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको छ। केही वेलफेयर सेन्टर र छानिएका व्यक्तिलाई आवासीय भिसा दिँदैमा ऐतिहासिक अन्याय मेटिन्छ भन्ने सोच औपनिवेशिक मानसिकताको पराकाष्ठा हो।

बेलायत सरकारले गोर्खा मुद्दामा निष्पक्षता देखाएको छ भन्ने दाबी स्वयं बेलायती समाजभित्रै अस्वीकार भइसकेको छ। Royal Court of Justice (2008) ले यो व्यवस्था अवैधानिक, अनैतिक र असान्दर्भिक ठहर गरिसकेको तथ्यलाई लत्याउँदै ‘निष्पक्षता’ को भाषण गर्नु सत्ताको निर्लज्ज दुरुपयोग हो। जातीय विभेद निषेध गर्ने कानुन भएको देशले जातीय आधारमै सैनिकहरूबीच फरक व्यवहार गर्नु कानुनको खिल्ली हो। यस्तो अवस्थामा कनिष्ठ मन्त्रीले ‘निष्पक्ष’ शब्द प्रयोग गर्नु केवल शब्दको हत्या हो।

एलबी घिसिङ

TACOS 2007 र त्रिपक्षीय सम्झौताको खुला उल्लङ्घन

गोर्खाको तलब–पेन्सन भारतीय सेनासँग जोडिएको तर्क प्रस्तुत गर्नु १९४७ को त्रिपक्षीय सम्झौताको खुला उल्लङ्घन हो। गोर्खा सैनिकहरू भारतका लागि होइन, बेलायतका लागि लडेका थिए । मलाया, बोर्नियो, फकल्याण्ड, कोसोभो सबै युद्धहरू यसको साक्षी हुन्। युद्ध सकिएसम्म प्रयोग गर्ने र शान्ति आएपछि ‘भारतीय मापदण्ड’ को बहाना बनाउने नीति औपनिवेशिक शोषणको आधुनिक संस्करण हो।

प्रजातन्त्र र मानवअधिकारको ठेक्का लिएको बेलायतले गोर्खालाई दोस्रो दर्जाको सैनिक व्यवहार गर्नु दोहोरो चरित्रको नाङ्गो उदाहरण हो। कर्णेल कुमार लामाको प्रकरण यसैको प्रमाण हो। विभेदलाई अस्वीकार गर्ने भाषण र व्यवहारमा विभेद, यो नै बेलायती राज्यको वास्तविक अनुहार हो।

APPG सम्बन्धी भ्रम र नियोजित गलत सूचना
APPG ले सिफारिस नगरेको दाबी नियोजित गलत सूचनाबाहेक केही होइन। संसदका दुवै सदनमा भएको बहस, डेभिड क्यामरुन र जोआना लुम्ले जस्ता व्यक्तिहरूको सार्वजनिक भूमिका, र बहुसंख्यक सांसदको समर्थन इतिहासमै दर्ज छ। केही नकारात्मक सदस्यको आधारमा सम्पूर्ण संसदीय प्रक्रियालाई अस्वीकार गर्नु राजनीतिक बेइमानी हो।

नेपाल सरकारको मौनता – अर्को अपराध
अझ चिन्ताजनक पक्ष भनेको नेपालको तर्फबाट राजदूतस्तरीय प्रतिनिधित्व हटाई कनिष्ठ कर्मचारी पठाइनु हो। ४५ हजारबाट २० हजारमा झरेका भूपू गोर्खा अझै पनि न्यायको प्रतीक्षामा छन्। यस्तो अवस्थामा बेलायती दम्भ सहिरहनु नेपाल राज्यको आत्मसमर्पण हो।

निष्कर्ष: अब कूटनीति होइन, राजनीतिक दृढता चाहिन्छ

भूपू गोर्खा मुद्दा दया, सहानुभूति वा गुनासोको विषय होइन—यो अन्तर्राष्ट्रिय सम्झौता उल्लङ्घन र राज्यीय विभेदको मुद्दा हो। यसको समाधानका लागि अब ‘कनिष्ठ मन्त्री–कनिष्ठ वार्ता’ होइन, द्विदेशीय मन्त्रीस्तरीय उच्च आयोग गठन गरी स्पष्ट समयसीमा र कार्यसूचीसहित निर्णय गरिनुपर्छ।

यदि नेपाल राज्य अझै मौन बसिरह्यो भने यो केवल गोर्खामाथिको अन्याय होइन, नेपाल राष्ट्रकै स्वाभिमानमाथिको ऐतिहासिक कलङ्क हुनेछ। –एलबी घिसिङ

(उल्लेखित विचार लेखकका निजी हुन्- सम्पादक)

डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति

Nabin Pokharel 4 hours ago

काठमडौं । पुष ६, २०८२–अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन् ।

विगत २० वर्ष पहिले सुरु भएको ‘पलेँटी’ कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् ।

डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहने भएकी छिन् । अभिज्ञा घिमिरे विगत एक वर्षदेखि पलेँटीसँग संगत गर्दै आएकी नयाँ पुस्ताकी कण्ठ-शिल्पी हुन् ।

यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको छ । आभास आफै गीत लेखनमा क्रियाशील कलाकार हुन् । तर उनले अन्य गीतकारका रचनामा पनि धुन भर्ने गरेका छन् । साथै अन्य संगीतकारका धुनलाई स्वर दिनेसमेत गरेका छन् ।

नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै एक दर्जन रचनाकारका शब्द र धुनहरू समेटिएका छन् । त्यसैले यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको हो ।

यो पलेँटीका निम्ति आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन् । उनले तयार पारेको सूचीमा संगीतकारहरु अम्बर गुरुङ, भीमबिराग र चन्द्र भण्डारी; गीतकारहरु कालीप्रसाद रिजाल, मञ्जुल, वूँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचना छन् ।

पलेँटीमा प्रस्तुत गर्नका निम्ति आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाईसमेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीतहरू पनि छन् ।

आभास भन्छन्- ‘गीत, संगीत जीवन्त कला हो । यसले हरदम सर्जकहरूको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ । हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो । यसपालिको पलेँटी पनि त्यही खोजको निरन्तरता हो ।’ उनी थप्छन्- ‘संगीतमा सर्जकको मात्र होइन श्रोता र दर्शकको संगत र सहकार्यको पनि आवश्यकता हुन्छ । मलाई विश्वास छ सधैँ झैँ यसपालि पनि पलेँटीका श्रोता र दर्शकबाट न्यानो संगत पाउने नै छौं ।’

सन् २००५ जनवरी महिनादेखि आरम्भ भएको पलेँटीले यही महिनाबाट आफ्नो २० औँ वर्ष पूरा गर्दैछ । आउँदो २०२६ मा पनि पलेँटी निरन्तर रहने आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।

यो महिनाको पलेँटी कार्यक्रम डिसेम्बर २६ तारिख शुक्रबार र २७ तारिख शनिबार कालिकास्थान स्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ । टिकट लगायत यस कार्यक्रमको सम्पूर्ण जानकारी www.paleti.com.np मा उपलब्ध छ ।

पलेँटीलाई आर शालामा आएर प्रत्यक्ष अनुभव गर्न असमर्थ संसारभरका संगीत प्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न पलेँटीलाई लाइभ हेर्ने व्यवस्थ पनि गरिएको छ । पलेँटीकै वेब साइटमार्फत पे पर भ्यू को अवधारणा अनुरुप यो सेवा प्रयोग गर्न सकिन्छ ।

सहारा यूकेमा नयां नेतृत्व चयन, शारदा गुरुङलाई अध्यक्षको जिम्मेवारी

Nabin Pokharel 16 hours ago

लन्डन । सहारा यूकेमा नयां नेतृत्व चयन भएको छ । २० डिसेम्बर शनिबार अल्डरसटस्थित माइतीघरमा सम्पन्न वार्षिक साधारणसभाले शारदा गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो ।

त्यसैगरि, उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दिपक गुरुङ (राजु) कोषाध्यक्षमा जगन गुरुङ, सहकोषाध्यक्षमा कुमार थापा र सहारा यूकेको सिइओमा दल गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरि, स्पोर्टस् सेक्रेटरीमा शम्शेर गुरुङ र युथ कोअर्डिनेटरमा अजयजंग थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा रमेश गुरुङ, सविन्द्र कुमार गुरुङ (एसके), गम गुरुङ, गंगा गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मिलन तमु र मनोज गुरुङ चुनिएका छन् ।

निर्वाचन समितिले नयां कार्यसमितिलाई शपथ ग्रहण गराएको थियो । निर्वाचन समितिमा संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त एवं सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ आयुक्तको जिम्मेवारीमा थिए ।

नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले सहारा यूकेलाई आफ्नो उद्देश्य अनुरुप अगाडि बढाउन कुनै कसरत बांकी नराखी काम गर्ने प्रविद्धता व्यक्त गरे ।

यसअघि अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा महासचिव क्याप्टेन पिताम्बर गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापाले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रमा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्षहरु दिलिप गुरुङ, मीन बहादुर गुरुङ (साइला), कुमार गुरुङ र लेप्टेन कुसाङ गुरुङले शुभकामना एवं सुझाव दिएका थिए ।

सहकोषाध्यक्ष जगन गुरुङले सहारा यूकेको अक्षय कोषबारे अपडेट गराएका थिए ।

सन् २००८ मा स्थापित च्यारिटी संस्था सहारा यूकेले महाभूकम्पबाट क्षतिग्रस्त स्कुल पुनर्निर्माण, आहा रारा गोल्डकपमा आर्थिक सहयोगदेखि हाल पोखरा, दोबिल्लामा अवस्थित सहारा पोखरा एकेडेमीमा ३० जना असहाय बालबालिकालाई आश्रय, पठनपाठन तथा फुटबल प्रशिक्षण दिइरहेको छ ।

गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभावमा

Nabin Pokharel 17 hours ago

गाजा सिटीमा च्यारिटी किचनबाट खाना प्राप्त गर्न पर्खिरहेका प्यालेस्टिनीहरू । तस्विर- रोयटर्स

गाजा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने,“हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका छन् ।”

संयुक्त राष्ट्र र उसका साझेदार संस्थाहरूले दैनिक रूपमा लाखौँ मानिसलाई तातो भोजन उपलब्ध गराइरहेका छन् र सम्पूर्ण गाजामा खाद्य सहायता वितरण गरिरहेका छन् ।

महासचिव गुटेरेसले भने,“स्वच्छ पानी थप समुदायसम्म पुग्न थालेको छ, केही स्वास्थ्य सेवा केन्द्रहरू पुनः सञ्चालनमा आएका छन् ।” उनले यस सुधारको श्रेय मानवीय कामदार, सदस्य राष्ट्र र नागरिक–सैन्य समन्वय केन्द्रबीचको सहकार्यलाई दिए । तर उनले सावधानीका साथ यी उपलब्धिहरू अझै नाजुक र जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।

गुटेरेसका अनुसार अक्टोबरदेखि संयुक्त राष्ट्रले सेवा निरन्तर सञ्चालनमा राख्ने प्रयास गरिरहेको छ, तर आवश्यकता वृद्धि सहयोगको क्षमताभन्दा छिटो भइरहेको छ । महासचिवले दीर्घकालीन युद्धविराम आवश्यक भएको र थप प्रवेश नाका खोल्ने, अत्यावश्यक सामग्रीमाथि लगाइएको प्रतिबन्ध हटाउने, प्रशासनिक झन्झट कम गर्ने, गाजाभित्र सुरक्षित आवागमन सुनिश्चित, दिगो वित्तीय सहयोग सुनिश्चित र अवरोधरहित मानवीय पहुँच प्रदान गर्ने आवश्यकता औँल्याए ।

त्यसैगरी, उनले पश्चिमी किनारामा पनि अवस्था संवेदनशील रहेको र त्यहाँ प्यालेस्टिनीहरूले बढ्दो हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको बताए । गुटेरेसले कब्जामा रहेका प्यालेस्टिनी भूभाग, पूर्वी जेरुसलमसहित, अन्तर्राष्ट्रिय कानुन, मानवीय कानुन र मानवअधिकार कानुनको पूर्ण पालना हुनुपर्नेमा जोड दिए ।

महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय न्यायालयको सन् २०२५, अक्टोबर २२ को सल्लाहात्मक मतको स्मरण गर्दै भने, “इजरायलले मानवीय सहायता सहज रूपमा प्रवेश गराउने, संयुक्त राष्ट्रसँग सहकार्य गर्ने र सशस्त्र द्वन्द्वको अवस्थामा समेत संयुक्त राष्ट्र र उसका कर्मचारीको अधिकार र सुरक्षा सम्मान गर्नुपर्छ । यी दायित्वहरू बाध्यकारी छन् र तुरुन्त कार्यान्वयन हुनुपर्छ । यो सङ्कट मानवीय निर्णयबाट उत्पन्न भएको हो, र राजनीतिक इच्छाशक्ति भएमा यसको समाधान सम्भव छ ।”

बीसीसी यूकेले धार्मिक पूजापाठसहित तमू ल्होछार मनाउने

Nabin Pokharel 22 hours ago


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाउने भएको छ ।

उक्त कार्यक्रम आउँदो मंगलबार ३० डिसेम्बर २०२५ अर्थात् २०८२ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा गर्न लागिएको हो ।

नेपालबाट आमान्त्रित धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ रिन्पोछे (सुजन गुरुङ) को बिशेष उपस्थितिमा गर्न लागिएको कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, घनचक्र पूजा गरिने छ ।

सो धार्मिक पूजामा टुल्कु थुब्वाङ्ग तेन्जिङ रिन्पोछे, बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ, लोपेन सोनाम, लोपेन जिग्ने, लामा अखिल, लामा दिनेश, लामा कर्मलगायत अन्य धर्मगुरुहरुको सहभागिता रहनेछ ।

विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछन्।

सोही अनुरुप यसबर्ष विश्वभर रहेका गुरुङहरुले सर्प बर्गलाई बिदाई गर्दै घोडा बर्गलाई स्वागत गर्न लागिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक मेजर हितमान गुरुङले जानकारी गराए ।

कार्यक्रममा तमुधिं यूके, मगर संघ यूके, तामाङ सोसाईटी यूके, थकाली समाज यूके, शेर्पा एशोसिएशन यूके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्च, बीसीसी यूके ट्रष्टी मेम्बर्सलगायत संघसंस्थालाई आमन्त्रण गरिएको बताइएको छ ।

बिहान ८ देखि साँझ ४ बजेसम्म संचालन हुने कार्यक्रममा नयाँ लुंदा फेरिने छ ।

त्यस्तै, गुम्बाले ग्रहशान्तिका लागि सत्क्यु–पत्क्यु (गेडागुडी), नङ्गलगायतका सामाग्रीहरु संकलन गरिरहेकोले इच्छुक महानुभावहरुले मंगलबार ३० डिसेम्बरका दिन बिहान ११ बजे भित्र गुम्बामा ल्याईदिन बीसीसी यूकेले अनुरोध गरेको छ ।

निःशुल्क चियापान, खाजा र खानासमेत व्यवस्था गरिएको कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत बीसीसी यूकेले अनुरोध गरेको छ ।

बीसीसी यूके अध्यक्ष आङ्दवा शेर्पाको अध्यक्षतामा सम्पन्न हुन लागेको ल्होछार कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरु, पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरुलगायत सल्लाहकारहरूले बिशेष जिम्मेवारी लिएको संयोजक मेजर गुरुङले जानकारी दिए ।

उनले धार्मिक पूजापाठका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भैदिन हुन बेलायतवासी सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरे।

स्मरण रहोस्, बीसीसी यूकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसारलगायत कार्यक्रमहरुमा बिशेष पूजापाठ गर्दै आएको छ ।

Explore news by Source or Category