npl.977 Nepal News Stream

Nepali Link

गुल्मी जिल्ला समाज यूके अध्यक्षमा तीन र महासचिवमा दुई उम्मेदवार, अरु सबै निर्विरोध

Dhruba Aryal 6 hours ago

अध्यक्ष उम्मेदवारहरु मञ्जु भण्डारी खरेल, मुकुन्द खराल र क्या. ताम ढेगा

लन्डन- गुल्मी जिल्ला समाज यूकेको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ।

आगामी मे ३ मा तय अधिवेशनबाट निर्वाचित हुने नवौं कार्यसमितिको अध्यक्ष पदमा मञ्जु भण्डारी खरेल, मुकुन्द खराल र क्या. ताम ढेगाले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन समितिले जारी गरेको उम्मेदवारको पहिलो सूचीअनुसार संस्थाको महासचिव पदमा पनि महलाल घिमिरे र राधा खरेलले उम्मेदवारी दिएका छन् ।

२१ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित अरु सबै पद भने निर्विरोध बनेका छन्।

दुई वर्षे कार्यकालका लागि निर्वाचित हुने कार्यसमितिको उपाध्यक्षमा तेज श्रीष मगर र डा विष्णु घिमिरे, सचिवमा सुरेश केसी, कोषाध्यक्षमा अर्जुन बस्नेत र सहकोषाध्यक्षमा माया केसी निर्विरोध बनेका छन् ।

कार्यसमितिका १४ जना सदस्यमा दीपक थापा मैथाने, वसन्त खनाल, वासुदेव पोखरेल, कपुर श्रेष्ठ, हरिप्रसाद अर्याल, हिरा सापकोटा, रामप्रसाद पन्थी, सुर्यविक्रम केसी, लक्ष्मण पौडेल, सुधिर गौतम, निर्मल पौडेल, विश्वप्रताप सिंह, मेजर बुद्धि भण्डारी, पुण्यहरि अर्याल र गीता काफ्ले पनि निर्विरोध निर्वाचित भएका छन् ।

समाजको अध्यक्ष पदका तीन उम्मेदवारमध्ये मञ्जु भण्डारी खरेल र मुकुन्द खराल वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । अर्का उम्मेदवार क्या. ताम ढेगा वर्तमान कार्यसमितिका सदस्य एवम् पूर्व सल्लाहकार हुन् ।

संस्थाको सुरुआती बेलादेखि नै विभिन्न भूमिकामा रहेर सक्रिय मञ्जुले यसअघि कार्यसमिति सदस्य, सांस्कृतिक सचिव, प्रवक्ता, सचिव हुंदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी छन् । अघिल्लो अधिवेशनमा पनि अध्यक्षकी उम्मेदवार रहेकी उनले सहमतिका लागि पछि हट्दै उपाध्यक्षमा दोहोर्याएकी थिइन् ।

अध्यक्ष उम्मेदवार मुकुन्द खराल पनि वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुनुअघि कोषाध्यक्षको जिम्मेवारीमा थिए । त्यसअघि उनले संस्थामा कार्यसमिति सदस्यका रुपमा समेत काम गरेका थिए ।

अध्यक्षका अर्का उम्मेदवार क्याप्टेन ताम ढेगा वर्तमान कार्यसमितिमा सदस्य छन् । त्यसअघि उनी संस्थामा सल्लाहकारको भूमिकामा रहंदै आएका थिए ।

महासचिव पदका दुई उम्मदवारमध्ये महलाल घिमिरे वर्तमान कार्यसमितिका पनि महासचिव हुन् । उनी त्यसअघि सचिव र कार्यसमिति सदस्यको भूमिकामा थिए ।

अर्की महासचिव उम्मेदवार राधा खरेल वर्तमान कार्यसमितिकी सचिव हुन् । उनले त्यसअघि संस्थाको प्रवक्ता, कार्यसमिति सदस्यलगायतका भूमिका निर्वाह गरिसकेकी छन् ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि सल्लाहकार मीन दर्लामी संयोजक, मतिप्रसाद पुन सदस्यसचिव र राजेन्द्र श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन समितिले अप्रिल १८ साँझ ५ बजेसम्म उम्मेदवार सूचीमाथि दावीविरोध, अप्रिल २२ साँझ ५ बजेपछि उम्मेदवारको दोस्रो सूची प्रकाशन र अप्रिल २५ साँझ बजेसम्म उम्मेदवारी फिर्ता तथा त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका सार्वजनिक गरेको छ । निर्वाचन अधिवेशनका दिन मे ३ तारिख अल्डरसटमा गरिनेछ ।

निर्वाचन प्रक्रिया अगाडि बढिरहंदा समाजले भने सहमति निर्माणका लागि संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचाको संयोजकत्वमा ७ सदस्यीय समन्वय समिति गठन गरेको छ । पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी, टोप पल्ली र वीर बलाल तथा सल्लाहकारहरु बालजंग अर्याल र चक्र राना सदस्य रहेको समितिले उम्मेदवारहरुसंग छलफल गरी सहमति बनाउने अपेक्षा छ ।

सबैको उम्मेदवारी कायम रहने अवस्थामा समन्वय समितिले अरु पद थपेरै भएपनि अध्यक्ष र महासचिवमा भागवण्डा मिलाउँछ कि निर्वाचनबाटै चयन गरिन्छ भन्ने उत्सुकता सदस्यहरुमा पैदा भएको छ ।

Read more news from Nepali Link

Explore by Source or Category