काठमाडौं । आइसिसीको टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणमा स्थान सुरक्षित गर्ने आठै टोलीको तस्वीर स्पष्ट भएको छ। समूह चरणका केही प्रतिस्पर्धा बाँकी रहे पनि अंक तालिकाको गणितले चारै समूहबाट दुई–दुई टोलीको यात्रा अगाडि बढ्ने निश्चित गरेको हो।
समूह ‘ए’ बाट भारत र पाकिस्तान ले सुपर–८ मा स्थान बनाएका छन्। भारतले आफ्ना सबै खेल जित्दै अपराजित रूपमा समूह विजेता बन्न सफल भयो। पाकिस्तानले भारतसँग पराजित भए पनि अन्य प्रतिस्पर्धामा जित निकाल्दै ६ अंकसहित दोस्रो स्थान सुरक्षित गर्यो। यस समूहमा रहेका संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया भने बाहिरिएका छन्।
समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वे को अघिल्लो चरण यात्रा सुनिश्चित भइसकेको छ। यी दुईबीचको बाँकी खेलले समूह विजेता र उपविजेता टुंग्याउनेछ। आयरल्याण्ड, अस्ट्रेलिया र ओमान को यात्रा भने यहीं समाप्त भएको छ।
समूह ‘सी’ मा वेस्ट इण्डिज र इंग्ल्याण्ड ले समान ६ अंकसहित सुपर–८ मा स्थान बनाएका छन्। अन्य टोलीहरू स्कटल्याण्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिए।
समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्याण्ड अघिल्लो चरणमा प्रवेश गरेका छन्। दक्षिण अफ्रिकाले चारै खेल जितेर उत्कृष्ट प्रदर्शन गर्यो भने न्युजिल्याण्डले तीन जितका साथ दोस्रो स्थान हात पार्यो। यस समूहका अफगानिस्तान, संयुक्त अरब इमिरेट्स र क्यानडा प्रतियोगिताबाट बाहिरिएका छन्।
अब सुपर–८ चरण शनिबारदेखि सुरु हुनेछ। समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र जिम्बाब्वे रहेका छन् भने समूह–२ मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका प्रतिस्पर्धामा उत्रनेछन्। हरेक समूहमा टोलीहरूले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सुपर–८ को उद्घाटन खेल न्युजिल्याण्ड र पाकिस्तानबीच हुनेछ। प्रतियोगिताको फाइनल मार्च ८ मा आयोजना हुने तालिका छ।