npl.977 Nepal News Stream

Nepali Link

नेपालमा सार्वजनिक शिक्षाको अवस्थाबारे वेबिनार हुँदै

Nabin Pokharel 1 day ago


लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) युके तथा टिच फर नेपालको सहकार्यमा आइतबार, २२ फेब्रुअरी बिहान १० बजे नेपालमा सार्वजनिक शिक्षाको अवस्थाबारे एक वेबिनार आयोजना गर्न लागिएको छ।

नेपालमा हुन लागेको आम निर्वाचनको संघारमा प्रमुख राजनीतिक दलहरुले शिक्षा सुधारका लागि घोषणापत्रमार्फत विभिन्न योजना सार्वजनिक गरिरहंदा उक्त वेबिनारमा नेपालमा सामुदायिक विद्यालयहरुको पठनपाठन सुधार्न गत १३ वर्ष देखि काम गरिरहेको गैर सरकारी संस्था ‘टिच फर नेपाल’ का कामहरुबारे जानकारी गराइने छ। कार्यक्रममा विद्यार्थीहरु तथा टिच फर नेपालका एलुम्नाइहरुले पनि आफ्ना अनुभव सुनाउने छन्।

टिच फर नेपालले विभिन्न विधामा स्नातक गरेका युवाहरुलाई ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुमा स्वयम्सेवी शिक्षकको रुपमा कम्तीमा दुइ वर्ष अध्यापन गर्न पठाउने गरेको छ। “हाम्रा फेलोहरुले पढाएका विद्यालयहरुमा विद्यार्थीहरुको सिकाइमा उल्लेख्य सुधार आएको छ। ती फेलोहरुले फर्के पछि पनि समाजको विभिन्न क्षेत्रमा परिवर्तनका लागि ‘चेन्ज एजेन्ट’ को रुपमा काम गरिरहेका छन्,” टिच फर नेपालकी सह-संस्थापक तथा सीइओ स्वस्तिका श्रेष्ठले भनिन्।

नेपालमा विद्यालय जाने कुल विद्यार्थीहरुमध्ये झन्डै ७५ प्रतिशत सामुदायिक विद्यालयहरुमा पढी रहेकाले सामुदायिक विद्यालयहरुको पठनपाठनमा सुधार नल्याउँदा सम्म नेपालको शिक्षा क्षेत्रमा सुधार हुन नसक्ने पनि उनले बताइन्।

एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालमा हुन गइरहेको आम चुनाव अघि सार्वजनिक शिक्षाको अवस्थाबारे बहस गर्न उक्त वेबिनार आयोजना गरिएको जनाए।

उनले नेपालको शिक्षा क्षेत्रमा रुचि राख्ने सबैलाई वेबिनारमा सहभागी हुन आग्रह पनि गरे।

Read more news from Nepali Link

Explore by Source or Category