npl.977 Nepal News Stream

Herne Katha logo Herne Katha

EP158:Mailo Bajeko Kalo Maya

हेर्ने कथा 1 month ago


हेटौंडाबाट पश्चिम बसामाडी भन्ने ठाउँ छ । मध्य वर्खा छ । छिनछिनमा पानी परिरहन्छ । बारीमा मकैका ढोडहरु ढाडिएर लडेका छन् । भिजेको मौसम रापिलो छ । राजमार्गमा एक तमासले गाडीहरु हुइँकेका छन् । बाटो छेउमा अग्ला भएका झारहरुले वर्षौं पुराना मोटरसाइकलका अस्थिपन्जरलाई छोपेका छन् । त्यहिँनिर ढकाल मोटरसाइकल वर्कशपको बोर्ड देखिन्छ । 

वर्कशपपछाडि सुदर्शन ढकालको सानो घर छ । सानो परिवार छ । बिहानको दुई गाँस भात टिपेर यो परिवारको पाइला सुस्तरी वर्कशपतिर लम्किन्छ । 

वर्कशपको सटर खुल्छ । अनि कमिलाजस्ता यी कर्मजिवीहरु कालोसँग खेल्न थाल्छन् । यो परिवारको शायद प्रिय रङ – कालो । 

सुदर्शन ढकाललाई दौंतरीहरु सुदरे बाजे भन्छन् अनि धेरैजसोका चाहिँ उनी माइलो बाजे । 

 

माइलो बाजेको कालो माया

आजकल जिन्दगी पाँचौं गियरमा छ ।  एउटा सुन्दर रफ्तारमा छ । बस् कर्मको एक्सिलेटर बटारिरहनु पर्यो । इमानको इन्धन काफी छ । 

छोरा राजिब देवघाटमा संस्कृत पढेका । उनी पण्डित्याँइ गर्छन् । कहिले सत्यनारायण पुजा लगाउन कहिले भागवत भन्न दौडिरहन्छन् । घरमा बसेको बेला चाहिँ उनको समय वर्कशपमै बित्छ । 

पण्डित बाजेका छोरा सुदर्शन ढकाल जन्मेदेखि नै सबैका बाजे थिए – फुच्चे बाजे । बाबुलाई छोरो आफूजस्तै पण्डित बनोस् भन्ने थियो । ९ कक्षामा फुच्चे बाजे फेल भए । फेल भएको तोडले पढ्न मन लागेन । अनि हेटौंडा बजारतिर काम खोज्दै बरालिन थाले । 

मोटरसाइकल धुने काम गर्दै जाँदा माइलो बाजेको कालोसँग माया बस्न थाल्यो । माइलो बाजे बिस्तारै बिस्तारै शिपालु मिस्त्री भए । जागिर पाए । 

जिन्दगी ठीकठाक चल्दै थियो । घर परिवार हुर्किँदै थियो । माइलो बाजेका दम्पत्ती नै काठमाडौंको कालिमाटीमा एउटा मोटरसाइकल कम्पनीमा जागिर खान्थे । 

माइलो बाजे कामकै सिलसिलामा एकदिन मोटरसाइकल चढेर धरान जाँदै थिए । साँझको बेला थियो । अगाडिको गाडीले ब्रेक लगाउँदा रातो बत्ती बल्यो । माइलो बाजेको आँखा तिरमिरायो । 

बिस्तारै बिस्तारै माइलो बाजेको आँखाको ज्योति हराउँदै गयो । कालोलाई माया गर्ने माइलो बाजेको संसारै कालो भयो । 

साँच्चै यो घर आज एउटा प्रेमको मन्दिर जस्तै भएको छ, जहाँ कर्मगङ्गा निरन्तर बगिरहन्छ अनि, माइलो बाजेको परिवार कालो रङमा पनि जीवनका इन्द्रेणीहरु खोजिरहन्छ । 

 

The post EP158:Mailo Bajeko Kalo Maya appeared first on Herne Katha.

Read more news from Herne Katha

Explore by Source or Category