Sutra News
जेनजी आन्दोलनका बेला लेखेको स्टाटसबारे बालेनले मानव अधिकार आयोगमा दिए बयान
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह सोमबार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्। भदौ २३ र २४ गतेका घटनाक्रमसँग जोडिएर आयोगले अघि बढाइरहेको अनुसन्धानका क्रममा मेयर शाहले औपचारिक बयान दिए।
राजधानीमा जेनजी आन्दोलनसँग जोडिएर उत्पन्न तनाव, गतिविधि र सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरूले विषय थप संवेदनशील बनेपछि आयोगले छानबिनलाई तीव्र पारेको हो।
मानव अधिकार आयोगका अनुसार मेयर शाहलाई घटनाबारे स्पष्टिकरणका लागि बोलाइएको थियो। ‘घटना छानबिनका क्रममा मेयर शाहलाई बोलाइएको थियो, आज आएर उहाँले बयान दिनुभएको छ,’ आयोगले भन्यो।
बयानका क्रममा सामाजिक सञ्जालमा लेखिएका स्टाटसदेखि घटना अवधिमा मेयर शाहका गतिविधिसम्मबारे विस्तृत सोधपुछ गरिएको हो।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले जेनजी आन्दोलनसँग सम्बन्धित समग्र घटनाक्रमको अनुसन्धान जारी रहेको स्पष्ट पारे। उनका अनुसार आयोगले यसका लागि छुट्टै अनुसन्धान टोली गठन गरेको छ।