कर्णाली करिडोरको खुलालु सलीसल्ला खण्डका नौ वटा पुल निर्माण अलपत्र
हुम्ला – कर्णाली करिडोरको कालीकोट, बाजुरा र हुम्ला खण्डका नदी र खोलामा निर्माण गर्नुपर्ने पुलको काम अगाडि बढ्न सकेको छैन।
२०७९ साल असारमा ती पुल निर्माणका लागि डिजायन एण्ड ब्लिडर्स प्रकृयाबाट ठेक्का लागेका यी अधिकाँस पुलहरुको अन्तिम डिजाईन सडक विभागबाट स्वीकृत हुन नसकेको कारण पुल निर्माण कार्यले गति लिन नसकेको हो।
कर्णाली करिडोरको कालीकोट खण्डको खुलालु खोला, सान्नीघाट खोला र पुगाड खोलामा पक्की पुल निर्माणको जिम्मा पाएको बोकाई ब्लीडर प्रालिले करिव चार वर्ष लगाएर सडक विभागबाट डिजाईन स्वीकृत गरेको भएपनि काम सुचारु गर्न नसकेको पुल निर्माणमा लगानी गर्दै आएको हिल्सा सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए। प्रालिले तयार पारेको डिजाईन माथि सुझाव दिएर परिवर्तन गर्नका लागि सडक विभागले पनि पटकपटक फिर्ता गर्ने गरेको थियो।
ती पुलहरुको निर्माण कार्य सुरु गर्नका लागि हिल्सा सिमकोट योजनासंग प्रालिले २०७९ साल असार ३० गते सम्झौता गरेर २०८२ साल असोज ३० गते सम्पन्न गर्ने गरि सम्झौता गरेको भएपनि हालसम्म डिजाईन स्वीकृतसम्मको अवस्थामा रहेको छ। पुलको निर्माण कार्य अगाडि बढाउन ताकेता गरिएको भएपनि सुरु हुन नसकेको उनले बताए।
तीन वटै पुलको डिजाईन स्वीकृत भई सकेको कारण अव निर्माण अगाडि बढ्ने बाटो भने खुलेको उनको भनाई छ। यो कामका लागि प्रालिले १८ करोड २८ लाख २८ हजार छ सय लागत लाग्ने गरि जिम्मा लिएको हो। यता छ कर्णाली करिडोरको बाजुरा र हुम्ला खण्डका छ वटा पुलको निर्माणको जिम्मा पाएको लुम्बिनी सिंह जेभीले यो अवधिमा छ वटै पुलको डिजाईन विभागमा पेश गरेको भएपनि चार वटा खोलाका पुलहरु जुड्डी खोला, बुड्डीघाट खोला, गल्फागार्ड र सर्केगार्ड ( न्यासी ) खोलाको डिजाईन स्वीकृत भएको छ। अझै कवाडी खोला र गल्फागार्ड खोलाको पुलको डिजाईन स्वीकृत हुन सकेको छैन।
६ वटा पुल मध्य हालसम्म उक्त जेभीले जिम्मा आएको मध्य चार वटा डिजाईन स्वीकृत भएको भएपनि एउटामात्र जुड्डी खोला पुलको निर्माण कार्य मात्र सुरु भएको उहाँको भनाईछ। यी पुलहरुको निर्माण कार्य अगाडि बढाउन सो जेभीसंग हिल्सा सिमकोट सडक योजनाले जेभीसंग २०७९ साल असार २८ गते निर्माण कार्य सुरु गर्ने गरि २०८२ साल पुस २९ गते सम्पन्न गर्ने सम्झौता गरेको भएपनि हालसम्म पाँच वटा पुलको निर्माण सुरु नै भएको छैन।
यी पुल निर्माण गर्नका लागि ४५ करोड ३१ लाख ५७ हजार ७५० रुपियाँ लागत लाग्ने गरि योजनाले सो जेभीसंग सम्झौता गरेको थियो। खुलालु सलीसल्ला खण्डका नौ वटा पुल निर्माणमा ढिलाई हुनुको कारण डिजाईन एण्ड ब्लील्डर्स प्रकृयाका टेण्डर रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताए।
सम्झौता भएको अधिकाँस समय डिजाईन स्वीकृत मै वितेपछि समयमा पुल निर्माण हुने कुरा नसकेको हो। यसविच दुवै निर्माण कम्पनीले पुल निर्माणका लागि तदारुकता नदेखाएको कारण पनि ढिलाई भई रहेको उनको भनाई छ। नौ मध्य दुई वटाको डिजाईन स्वीकृत नभएको र बाँकी मध्य छ वटा काम सुरु नै नभएको कारण पुल कहिले सम्पन्न हुन्छ भन्ने कुरा भन्नै नसकिने अवस्था छ।