पारि डाँडो खाँदबारी । वारि दिङ्ला बजार । बिचमा अरुण सलल । जमानामा बालागुरु षडानन्दले रुमाल ओछ्याएर अरुण तरेका चमत्कारी कथाहरु बिस्तारै सुनिन छाडेको छ । बरु तिनै गुरुजीले रोपेको भनिएका रुद्राक्षका दानाहरुले आजकल यो भेगमा चमत्कार गरेका छन् ।
दानाको कथा
रुद्राक्षलाई यहाँ बोलिचालीको भाषामा दाना भनिन्छ । कार्तिक-मंसिरमा भोजपुर र सङखुवासभाका यी पाखाहरु दानामय हुन्छन् । बारीमा दाना बोरामा दाना बिस्कुनमा दाना दैलोमा दाना थैलोमा दाना जताततै दानै दाना ।
दाना किन्न आएका चिनियाँ ब्यापारीहरु तुम्लिङटार र खाँदबारीका होटलहरुमा खचाखच हुन्छन् । घर पसल चोक चौतारी जताततै लाख र करोड घटीका कुरै हुँदैनन् ।
दिङ्ला बजारबाट अलि पर्तिर चिउरीबोटे भन्ने ठाउँ छ । चिउरीबोटेका चर्चित दानावाल हुन् सुरेन्द्र राई र लोकेन्द्र राई । दाजुभाइ ।
हामी पुग्दा सुरेन्द्रका आँगनभरि दानाको बिस्कुन थियो । कोही दाना धुँदै गरेका । सुरेन्द्रले दानाको कथा हाले ।
कसैको थैलो ठूलो, कसैको ठीकठीकै । आँगन छेउका दुई चार बोटले पनि प्रायलाई वर्षेनी दुई चार लाखको अनुहार देखाइदिन्छ । सुरेन्द्रको घर भन्दा अलिक मास्तिर गोबिन्द बस्नेत दाना बटुल्दै थिए ।
तल अरुण छेउका तुम्लिङटारमा चिनियाँहरुको चहलपहल छ । दाना किन्न आइपुग्ने चिनियाँहरुले वर्षमा एक पटक यो सानो ठाउँको अर्थतन्त्र चलायमान बनाइदिन्छन् – होटल, खानेकुरा, गाडी, मोटरसाइकल र इन्धन र दोभाषेको खपत गरेर ।
तुम्लिङटारकै राजकुमार घिमिरे यस भेगका ठूला ब्यापारि मानिन्छन् । दानाको कमाइले उनले दुईटा रिसोर्ट, अस्पताल र स्कुल खोलेका छन् । उनी इन्डोनेसियासम्म पुगेर दानाको ब्यापार गर्छन् ।
बैदामटारका मोहन तामाङ दिङ्लाको एउटा होटलमा भेटिए । ९ वर्षदेखि दिङ्ला बसेर पत्रकारिता गरेका मोहनले यसै पालिदेखि दानाको ब्यापारमा हात हालेका रहेछन् ।