News of Nepal
सीमामा सशस्त्र प्रहरीको कडाइ : स्रोत नखुलेको ५ लाखभन्दा बढी रकमसहित दुई पक्राउ, अवैध कुखुरा नष्ट
रौतहट।
सशस्त्र प्रहरी बल नेपाल ले सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाउँदै स्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले शुक्रवार राजदेवी नगरपालिका–८ स्थित सोफियामाई सीमा क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बि आ०६ ए ६२ ९२ को मोटरसाइकल रोकेर जाँच गर्दा सवार दुई जनाको साथबाट कुल ५ लाख २२ हजार ४९० रुपैयाँ बरामद गरेको जनाएको छ।
बरामद रकममध्ये भारतको सितामढी बस्ने नजिर नटको साथबाट ३ लाख २२ हजार रुपैयाँ र सर्लाहीका मुम्ताज अन्सारीको साथबाट २ लाख ४ सय ९० रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय मा बुझाइएको सीमा सुरक्षा गुल्म गौरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टले जानकारी दिनुभयो ।
यस्तै सशस्त्र प्रहरीको विभिन्न टोलीले रौतहटका छुट्टाछुट्टै सीमा नाकाबाट अवैध रूपमा ल्याइएका भारतीय ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ। गौर नगरपालिका–१ कानुपट्टी तथा परोहा नगरपालिका–८ नरकटिया क्षेत्रबाट ५४ वटा (करिब १८६ केजी) कुखुरा बरामद गरी नष्ट गरिएको जनाइएको छ।
सीमामा अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी अझ कडा बनाएको जनाएको छ।