सदरमुकाम दुनैबाट खोला र भिरको बाटो कस्सेर हिँड्यो भने दुई दिनमा धो उपत्यका पुगिन्छ । ४ हजार १ सय मिटरको उचाइमा रहेको धो – उपल्लो डोल्पाको प्रवेशद्वार मानिन्छ । मुस्ताङतिरबाट डोल्पा छिरेका हामी चाहिँ छार्काभोट र तिन्जेहुँदै धो उपत्यका पुगेका थियौं – यसपालिको डोल्पो यात्राको हाम्रो अन्तिम गन्तव्य । धो, आम्ची र यार्सातिन्जेबाट पेम्मा छेवाङ भोटेसँगै हामी धोतिर लाग्यौं । पेम्माको पनि पूरै गाउँ पाटन सरेको रहेछ । उनी पनि एक महिनादेखि काखे नानी र बुढा बासहित यतै पालघरमा बस्दा रहेछन् । बच्चाहरूसँग गाडीबाट कमलले कुरा गरेको पार्ट राख्ने । साँझ पर्ने बेलामा हामी छोयला पास हुँदै धो तिर लाग्यौं ।धो उपत्यकाका कुना काप्चा डुल्न हामीले चिनियाँ मोटरसाइकल फेला पार्यौं । हिमाली हावामा धुलो उडाउँदै हामी यार्सा खोज्ने लेकतिर लाग्यौं । यार्सा पाइने लेकसम्मै मोटरबाइक पुग्दोरहेछ । ५ हजार १ सय मिटरको छोयलापासको दक्षिण फर्केको पारिलो पाखामा गाउँलेहरु घुँडा धसेर किरा खोज्दै थिए । सिजन सक्किन लागिसकेको छ । धेरैजसोले निकै बेरसम्म पनि किरा फेला पारेका थिएनन् । धो मा हामीले ङवाङ गुरुङलाई भेट्यौं । काठमाडौं र सुर्खेत बसेर पढेका ङवाङ, गाउँ फर्किएको ४ वर्ष हुन लाग्यो । उनी गाउँपालिकामा अस्थायी जागिर खान्छन् र पालिका अध्यक्ष आफ्नै बुबा, कार्मा छोइवेल गुरुङलाई सघाउँछन् । त्यसपछि हामी आम्चीको खोजीमा हिँड्यौं । आम्ची बस्ने गोठमा उनकी श्रीमती मात्र भेटिइन् । आम्ची गाउँतिरै रहेछन् । बाख्राको छुर्पी चपाउँदै हामी आम्ची खोज्न फेरि गाउँ फर्कियौं । आम्ची भनेका यहाँका परम्परागत डाक्टर । ७० वर्षका आम्ची पेम्माले आफ्ना बाउबाजेसँग यो काम सिकेका । धोमा हामी बसेको होटलका साउजी पनि दाँत दुख्यो भन्दै आम्ची भेट्न आइपुगे । हामी एकछिन आम्चिसँग उनको घरबाहिर खोलातिर डुल्यौं । भूँइतिर उम्रेका थरिथरिका झार चिनाउँदै आम्चीले हामीलाई तीनका औषधिय गुण सुनाए ।