npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

पर्सियाली खाडीमा जहिल्यै तनाव, विकल्पमा नाइजेरिया–मोरक्को पाइपलाइनको चर्चा

विन्देश दहाल 9 hours ago

काठमाडौं । विश्वव्यापी ऊर्जा परिदृश्य अहिले ठूलो परिवर्तनबाट गुज्रिरहेको छ । यो परिवर्तन नवीकरणीय स्रोतहरूतर्फ हुने संक्रमणले मात्र नभई परम्परागत आपूर्ति मार्गहरूको बढ्दो अस्थिर प्रकृतिले पनि परिभाषित छ ।

यस रूपान्तरणको केन्द्रमा नाइजेरिया–मोरक्को ग्यास पाइपलाइन (एनएमजीपी) रहेको छ । यस परियोजनालाई कुनै समयमा असम्भव सपनाको रूपमा खारेज गरिएको थियो । तर, अहिले यसले भूराजनीतिक पुनर्जन्मको अनुभव गरिरहेको छ ।

दशकौंदेखि विश्वले पर्सियाली खाडीलाई विश्वव्यापी ऊर्जाको प्राथमिक स्रोतको रूपमा भरोसा गर्दै आएको छ । तर, इजरायल, अमेरिका र इरानबीचको बढ्दो तनावले हर्मुज जलयोजकमा अनिश्चितताको छाया पारेको छ ।

एनएमजीपीलाई अफ्रिकन–एटलान्टिक ग्यास पाइपलाइनको रूपमा पुनः नामकरण गरिएको छ र यो सम्भावित रणनीतिक विकल्पको रूपमा उदाइरहेको छ । हुन त यो परियोजना आर्थिक र परिचालन चुनौतीहरूले घेरिएको छ तैपनि पश्चिम एसियाको अस्थिरतालाई बाइपास गर्ने चाहनाले नाइजेरिया र मोरक्कोबीचको वार्तामा यसले नयाँ तत्परता प्रदान गरिरहेको छ ।

पाइपलाइनको पछाडि देखिएको यस नवीकृत गतिलाई मोरक्कन नेशनल अफिस अफ हाइड्रोकार्बन एन्ड माइन (ओएनएचवाईएम) र नाइजेरियन नेशनल पेट्रोलियम कम्पनी (एनएनपीसी) का हालैका घोषणाहरूले थप जोड दिएका छन् ।

दुवै राष्ट्रले सन् २०२६ को अन्त्य सम्ममा परियोजनाको फराकिलो योजनालाई ठोस आकार दिने इच्छा व्यक्त गरेका छन् ।
यो समयतालिका सन् २०१६ मा पहिलोपटक प्रस्तावित भिजनको तुलनामा उल्लेख्य वृद्धि हो । तर, अफ्रिकी नेताहरूले व्यक्त गरेको यस आशावादलाई अघिल्लो ढिलाइको वास्तविकतासँग तुलना गरेर हेर्नुपर्छ ।

मात्र एक वर्षअघि सरोकारवालाहरूले सन् २०२५ सम्ममा अन्तिम लगानी निर्णय गर्ने लक्ष्य राखेका थिए । त्यो समयसीमा अहिले सरेको देखिन्छ ।

यसले के संकेत गर्छ भने राजनीतिक इच्छाशक्ति पहिलेभन्दा बलियो भए पनि यति ठूलो पहलको व्यावहारिक कार्यान्वयन कुनै पनि अन्तर्राष्ट्रिय कन्सोर्टियमको लागि अझै पनि चुनौतीपूर्ण कार्य हो ।

पश्चिम एसियामा बिग्रँदै गएको सुरक्षा अवस्था यस पाइपलाइनप्रति जागेको नवीन चासोको मुख्य कारण हो । इजरायल र क्षेत्रीय समूहहरू बीचको जारी द्वन्द्व र इरानसँगको प्रत्यक्ष मुठभेडको खतराले ऊर्जा बजारलाई अत्यन्त त्रसित बनाएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (ईआईए) को रिपोर्ट अनुसार, पर्सियाली खाडीमा हुने कुनै पनि ठूलो अवरोधले विश्वव्यापी तेल र ग्यासको मूल्यलाई रेकर्ड उचाइमा पुर्याउन सक्छ र त्यसले रुसी ऊर्जा आपूर्ति गुमाएर भर्खरै तंग्रिदै गरेका युरोपेली अर्थतन्त्रहरूलाई थप क्षति गर्न सक्छ ।

एनएमजीपीले यस्तो जमिन र अफशोर मार्ग उपलब्ध गराउँछ जसले अफ्रिकी तटलाई छुन्छ र स्वेज नहर तथा हर्मुज जलयोजक जस्ता अवरोध बिन्दुहरूलाई पूर्ण रूपमा छल्छ । अफ्रिकाकै सबैभन्दा ठूलो नाइजेरियाको विशाल समुद्री ग्यास भण्डारलाई मोरक्को हुँदै सिधै युरोपेली ग्रिडसँग जोडेर यस परियोजनाले ऊर्जा सुरक्षामा बलियो इँटा थप्नेछ । त्यस्तो सुरक्षा पश्चिम एसियाले ग्यारेन्टी गर्न सक्दैन ।

यस पाइपलाइनको रणनीतिक महत्त्व बुझ्नका लागि युरोपेली संघको बदलिँदो प्राथमिकताहरूलाई हेर्नुपर्छ । युक्रेनमाथि रुसी आक्रमण र त्यसपछिको रिपावरईयू योजनाको कार्यान्वयन अन्तर्गत रुसी ऊर्जा नलिने अडानपछि युरोप आफ्नो ऊर्जा आयातमा विविधता ल्याउन आतुर छ । अमेरिका र कतारले तरल प्राकृतिक ग्याँस (एलएनजी) को माध्यमबाट धेरै हदसम्म त्यो रिक्तता पूर्ति गरेका छन् तैपनि स्थिर पाइपलाइन ग्यासको माग उच्च नै छ ।

एनएमजीपीलाई बढ्दो रूपमा युरोपेली ऊर्जा सार्वभौमिकताको दृष्टिकोणबाट हेरिएको छ । यो पूरा भयो भने पाइपलाइन ५६ सय किलोमिटरभन्दा लामो हुनेछ र यसलाई विश्वकै सबैभन्दा लामो अफशोर पाइपलाइन बनाउनेछ ।

यो १३ वटा पश्चिम अफ्रिकी राष्ट्रहरूको क्षेत्रीय जलक्षेत्र हुँदै जानेछ र यसले एटलान्टिक महासागरको तटलाई पूर्वका परम्परागत मार्गहरूसँग प्रतिस्पर्धा गर्ने नयाँ ऊर्जा करिडोरमा परिणत गर्ने सम्भावना राख्छ ।

तर, यस परियोजनाको भूराजनीतिक पुनर्जन्मले यसका अन्तर्निहित आर्थिक विरोधाभासहरूलाई स्वतः समाधान गर्दैन । यसको अनुमानित लागत २५ अर्ब डलरलाई ग्यास उद्योग विज्ञहरूले निकै कम आकलन गरिएको मान्छन् ।

निर्माण सामग्रीको मुद्रास्फीति र गहिरो पानीको इन्जिनियरिङको जटिलतालाई हेर्दा केही विश्लेषकहरूले अन्तिम लागत ३० अर्ब डलर नाघ्न सक्ने बताएका छन् । यस्तो परियोजनाको लागि वित्तीय व्यवस्थापन गर्नु विशाल चुनौतीका रूपमा रहेको छ ।

विशेषगरी, विश्व बैंक वा अफ्रिकी विकास बैंकजस्ता कुनै पनि ठूला अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले लागतको ठूलो हिस्सा बेहोर्ने औपचारिक प्रतिबद्धता नजनाएको सन्दर्भमा यो चुनौती विशाल भएको हो ।

यस परियोजनाको संरचनामा १३ वटा ट्रान्जिट देशहरूले आ–आफ्नो खण्डको लगानी र व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ । त्यसले प्रशासनिक र सार्वभौम जोखिमका तहहरू थप्छ र निजी लगानीकर्ताहरूलाई निरुत्साहित गर्न सक्छ ।

आर्थिक सहयोगको प्रतिस्पर्धा विश्वव्यापी हरित ऊर्जा संक्रमणको दबाबले थप जटिल बनेको छ । उदाहरणका लागि, युरोपेली लगानी बैंक (ईआईबी) ले पेरिस सम्झौता अनुरूप जीवाश्म इन्धन पूर्वाधारका लागि आफ्नो सहयोगमा भारी कटौती गरेको छ । सेनेगल र मौरिटानिया जस्ता ट्रान्जिट देशहरूले पनि आफ्नो प्राकृतिक ग्यास महत्त्वाकांक्षा र कम कार्बन ऊर्जा स्रोतहरूको घरेलु आवश्यकता बीच सन्तुलन मिलाइरहेका छन् ।

यो पाइपलाइन सम्भवतः २०३० को दशकको मध्यतिरबाट मात्र सञ्चालनमा आउनेछ । त्यतिबेलासम्म युरोपेली बजारले हाइड्रोजन र नवीकरणीय ऊर्जा अँगालेर ग्यासबाट विमुख भइसकेको हुने एनएमजीपीका आलोचकहरू तर्क गर्छन् ।

तर, पाइपलाइनका समर्थकहरूले अफ्रिकी संघको ‘एजेन्डा २०६३’ लाई उद्धृत गर्दै प्राकृतिक ग्यास अफ्रिकी औद्योगिकीकरणका लागि अत्यावश्यक इन्धन भएको बताएका छन् । उनीहरूले अफ्रिकी महादेशलाई पश्चिमी वातावरणीय समयतालिकाका आधारमा आफ्ना स्रोतहरू विकास गर्ने अधिकारबाट वञ्चित गरिनु हुँदैन भन्ने तर्क गरेका छन् ।

के पश्चिम एसियाको वर्तमान संकटले अन्ततोगत्वा अन्तर्राष्ट्रिय दाताहरूलाई एनएमजीपीका जोखिमहरूलाई बेवास्ता गर्न बाध्य पार्छ त ? यसप्रकारको भूराजनीतिक लगानीका ऐतिहासिक उदाहरणहरू उपलब्ध छन्

अर्को जटिल पक्ष मोरक्को र अल्जेरिया बीचको क्षेत्रीय प्रतिस्पर्धा हो । वर्षौंदेखि अल्जेरियाले आफ्नै परियोजना ट्रान्स–साहारन ग्यास पाइपलाइन (टीएसजीपी) लाई प्रवर्धन गर्दै आएको छ । त्यो नाइजेरियाबाट नाइजर हुँदै अल्जेरियासम्म जानेछ ।

टीएसजीपी छोटो र सैद्धान्तिक रूपमा सस्तो भए पनि साहेल क्षेत्रको अस्थिरताले, विशेषगरी नाइजर र मालीमा हालै भएका विद्रोहहरूले गर्दा, यसलाई सुरक्षाको दृष्टिकोणबाट लगानीका लागि अयोग्य बनाएको छ ।

मोरक्कोले यसको फाइदा उठाउँदै एटलान्टिक मार्गलाई महँगो भए पनि बढी स्थिर विकल्पको रूपमा प्रस्तुत गरेको छ । यस प्रतिस्पर्धाले पाइपलाइनलाई ऊर्जा परियोजना मात्र नभई सौम्य शक्ति र क्षेत्रीय प्रभुत्वको साधनमा परिणत गरेको छ । नाइजेरियन ग्यासको प्रवेशद्वारको रूपमा आफूलाई उभ्याएर मोरक्कोले पश्चिम अफ्रिकामा आफ्नो प्रभाव सुदृढ गर्ने र युरोपेली संघसँगको सम्बन्ध बलियो बनाउने लक्ष्य राखेको छ ।

नाइजेरिया, बेनिन, टोगो, घाना, आइभोरी कोस्ट, लाइबेरिया, सिएरा लियोन, गिनी, गिनी–बिसाउ, गाम्बिया, सेनेगल, मौरिटानिया र मोरक्को सहित १३ विभिन्न राष्ट्रहरूको संलग्नताले ऐतिहासिक स्तरको कूटनीतिक चुनौती खडा गरेको छ । प्रत्येक देशको आफ्नै आन्तरिक राजनीति, नियामक संरचना र सुरक्षा चिन्ताहरू छन् ।

परियोजना सफल हुनका लागि पश्चिम अफ्रिकामा विरलै प्राप्त हुने स्तरको क्षेत्रीय एकीकरण आवश्यक छ । नाइजेरियालाई घानासँग जोड्ने पश्चिम अफ्रिकी ग्यास पाइपलाइन (डब्ल्यूएजीपी) जस्ता ऐतिहासिक उदाहरणहरू आपूर्ति अवरोध र भुक्तानी विवादले ग्रस्त भएका छन् ।

यी समस्याहरूबाट बच्न एनएमजीपीलाई एउटा मजबुत कानुनी ढाँचा आवश्यक पर्नेछ । यसले लगानीकर्ताहरूलाई यस क्षेत्रमा देखिने राजनीतिक अस्थिरताबाट जोगाउन सक्नुपर्छ ।

के पश्चिम एसियाको वर्तमान संकटले अन्ततोगत्वा अन्तर्राष्ट्रिय दाताहरूलाई एनएमजीपीका जोखिमहरूलाई बेवास्ता गर्न बाध्य पार्छ त ? यसप्रकारको भूराजनीतिक लगानीका ऐतिहासिक उदाहरणहरू उपलब्ध छन् ।

शीतयुद्धको समयमा धेरै ठूला पूर्वाधार परियोजनाहरूमा आर्थिक रूपमा सक्षम भएकाले मात्र लगानी भएका थिएनन् । तिनीहरू प्रतिद्वन्द्वी शक्तिलाई प्रभाव जमाउनबाट रोक्न रणनीतिक रूपमा आवश्यक भएर लगानी गरिएका थिए ।

अमेरिका र युरोपले ऊर्जा बजारमा इरानी प्रभाव र अफ्रिकामा रुसी प्रभावलाई घटाउन एनएमजीपीलाई महत्त्वपूर्ण सुरक्षा सम्पत्तिको रूपमा लिए भने यसका लागि परम्परागत व्यावसायिक बैंकहरू भन्दा विशेष रणनीतिक लगानी कोषहरूबाट रकम जुट्न सक्छ ।

तर, नाइजेरियाका आन्तरिक चुनौतीहरूलाई पनि विचार गर्नुपर्ने हुन्छ । नाइजेरियासँग ठूलो ग्यास भण्डार भए पनि त्यहाँ घरेलु ऊर्जा क्षेत्र पूर्वाधारको क्षय, तेल चोरी र ग्यास संकलन प्रविधिमा लगानीको अभावले चुनौती थपेको छ ।

५६ सय किलोमिटर लामो पाइपलाइनमा विश्वसनीय रूपमा ग्यास आपूर्ति गर्न नाइजेरियाले पहिले आफ्नै उत्पादनलाई स्थिर बनाउनुपर्छ । राष्ट्रपति बोला टिनुबुले यस पाइपलाइनलाई आफ्नो सरकारको नयाँ आशा (रिन्युड होप) एजेन्डाको केन्द्रविन्दु बनाएका छन् । यसले नाइजेरियाको संघर्षरत अर्थतन्त्रलाई सुधार्न ग्यासको मुद्रीकरण तर्फको कदमको संकेत गर्छ ।

तर, नाइजेरियन नेशनल पेट्रोलियम कम्पनीमा हुने ठूलो सुधार र नाइजर डेल्टामा सुरक्षा जोखिममा कमी नआएसम्म आपूर्तिको विश्वसनीयता युरोपेली खरिदकर्ताहरूका लागि शंकाको विषय नै रहनेछ ।

यी अवरोधहरूका बावजुद नाइजेरिया–मोरक्को ग्यास पाइपलाइनको चर्चा अब हुने कि नहुनेबाट अघि बढेर कसरी गर्ने भन्नेमा पुगेको छ । यस परियोजनाको औचित्य ग्यासको बजार मूल्यमा मात्र आधारित नभई भूराजनीतिक स्थिरताको मूल्यमा आधारित छ ।

पर्सियाली खाडीलाई भूराजनीतिक दायित्वको रूपमा लिइएकाले अफ्रिकन–एटलान्टिक तट विकल्पमा आकर्षक सम्भावना बनेको छ । मोरक्को र नाइजेरियाले कुनै प्रमुख विश्वव्यापी शक्ति वा सार्वभौम सम्पत्ति कोषबाट प्रारम्भिक लगानी मात्र पनि सुरक्षित गर्न सके भने यो परियोजना क्षेत्रीय आकांक्षाबाट विश्वव्यापी आवश्यकतामा परिणत भएको संकेत गर्नेछ ।

एनएमपीजीको सफलताले नेपाल र दक्षिण एसियामा प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रभाव पार्नेछ । दक्षिण एसियाली देशहरू आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्साका लागि पर्सियाली खाडी र हर्मुज जलयोजकमा अत्यधिक निर्भर छन् । पश्चिम एसियामा हुने कुनै पनि सानो द्वन्द्व वा अवरोधले तत्कालै नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चर्को मुद्रास्फीति निम्त्याउँछ ।

यस पाइपलाइनले विश्वव्यापी ऊर्जा आपूर्ति मार्गमा विविधता ल्याउँदा खाडी क्षेत्रमा रहेको विश्वको अत्यधिक निर्भरता कम हुनेछ । युरोपले आफ्नो ग्यासको आवश्यकता अफ्रिकाबाट पूर्ति गर्न थाल्यो भने खाडीको ऊर्जा बजारमा मागको चाप केही हदसम्म कम हुनेछ ।

यसले गर्दा दक्षिण एसियाली मुलुकहरूका लागि खाडीको ग्यास र तेलको मूल्यमा स्थिरता आउन मद्दत पुग्नेछ । नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्रका लागि विश्वव्यापी इन्धन बजारमा आउने स्थिरता वैदेशिक मुद्रा सञ्चिति जोगाउन र आर्थिक सुरक्षा कायम गर्न महत्त्वपूर्ण हुनेछ ।

१३ देशलाई जोड्ने एनएमपीजी जस्तो विशाल परियोजनाले दक्षिण एसियाका लागि पनि ठूलो पाठ सिकाउँछ । नेपाल, भारत, भुटान र बंगलादेशबीच भइरहेको क्षेत्रीय विद्युत् व्यापार र भविष्यका सम्भावित ऊर्जा परियोजनाहरूका लागि यस्ता जटिल अन्तरदेशीय पूर्वाधारहरू कसरी कूटनीतिक र वित्तीय रूपमा व्यवस्थापन गर्ने भन्ने रणनीतिक सिकाइ यसबाट प्राप्त हुन सक्छ । ऊर्जा मार्गको विविधीकरणले अन्ततः नेपालको बाह्य आर्थिक झड्का खप्ने क्षमतालाई बलियो बनाउनेछ ।

Read more news from Clickmandu

Explore by Source or Category