npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

कामनाका संस्थापक पुष्करलाल श्रेष्ठको पुण्यतिथिमा बृहत् स्वास्थ्य शिविर 

न्युज अफ नेपाल 9 hours ago

काठमाडौं।

कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा वरिष्ठ पत्रकार स्व.पुष्करलाल श्रेष्ठको सातौँ वार्षिक पुण्य तिथि र पब्लिकेसन्स्को ४३ औं वार्षिेकोत्सवको अवसरमा बिहीबार राजधानीको भिमसेनस्थानको रामघाटस्थित पब्लिकेसन्स् परिसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा , द रोलिङ स्टोन्स् स्कुल, र इमेज ग्रुपले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलको प्राविधिक प्राविधिक सहयोगमा सो शिविर आयोजना गरेको हो। 

शिविर बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो । सो शिविरमा कामना परिवार, स्थानीय बासिन्दा, रोलिङस्टोन स्कूल परिवार लगायतले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा नाक, कान, घाँटी, दाँत, हाडजोर्नी, आँखा, स्त्रीरोगको परीक्षण गरिएको थियो ।

 यसअघि पनि काठमाडौ मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर गरिएको थियो । त्यस्तै विशेषज्ञ चिकित्सकबाट मुटुरोग, मधुमेह, कोलस्ट्रोलको परीक्षण गरिएको थियो।स्वास्थ्य शिविरमा सहभागीहरूलाई विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण, परामर्श लगायतको सेवा प्रदान गरियो । त्यस्तै गत वर्ष २०८१ साल वैशाख ४ गते पनि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा निःशुल्क आँखा शिविर कार्यक्रम गरिएको थियो । 

यस अघि शिविरको शुभारम्भ गर्दै पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत एवं नेपाल समाचारपत्र दैनिकका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले पब्लिकेसन्सले स्थापनाकालदेखि नै समाजलाई प्रत्यक्ष फाइदा हुने ससाना तर रचनात्मक कामहरु गर्ने संस्थागत अभ्यासलाई निरन्तरता दिइरहेको बताउनुभयो।

 ‘स्वर्गीय भरतलाल श्रेष्ठ, स्वर्गीय पुष्करलाल श्रेष्ठले सिकाउनुभएको बाटो हो । वार्षिक कार्यतालिका नै बनाएर यस्तो कार्यक्रम गर्दे जाने छौं ।’ उहाँले भन्नुभयो ‘ पत्रकारिता गर्दा होस् वा अन्य कुनै काम, त्यसले समाजलाई फाइदा हुन्छ भने त्यस्तो काम गर्नु राम्रो हो भनेर गरेर सिक्दै आएको छु । अरु त्यस्तो रचनात्मक काम के हुनसक्दछ भनेर पनि सोचौं।’

सो अवसरमा काठमाडौं मेडिकल कलेजका शिविर इन्चार्ज प्रेमलाल सुवालले  सर्वसाधारणलाई स्वास्थ्य सम्बन्धी सचेतना जगाउन, नियमित स्वास्थ्य परीक्षणको बानी बसाल्न विभिन्न वडा, ठाउँमा गएर स्वास्थ्य शिविर गर्दे आएको सन्दर्भमा यो कार्यक्रम भएको बताउनुभयो। शिविर इन्चार्ज सुवालले शिविरमा धेरै बिरामीको फरक फरक समस्या पत्ता लागेको जानकारी दिँदै  थप उपचारका लागि केएमसी अस्पताले सक्दो सहयोग गर्ने जानकारी गराउनुभयो ।

सामाजिक उत्तरदायित्व प्रेरित काम गर्दे जाने संस्थाको उद्देश्य अनुरुप आज सञ्चारमाध्यम र विधालयसंग मिलेर आयोजना गरिएको उल्लेख गर्दै सुवालले यो शिविरबाट त्यहाँ कार्यरत पत्रकार, कर्मचारी, अभिभावक र समुदाय लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा नेपाल लाइफ लाइन सोसाइटीका अध्यक्ष समीर जोशीले स्वर्गीय भरतलाल श्रेष्ठले सामाजिक सेवा सदैव प्रेरित गर्ने गरेको स्मरण गर्दै सामाजिक हित यथोचित रुपमा काम गरिरहेको बताउनुभयो। आफ्नो संस्था पनि सोही उद्देश्य र भावना प्रेरित भएको उहाँको कथन रहेको छ ।

नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले स्वर्गीय पुष्करलाल श्रेष्ठ नेपालको पत्रकारिताकै जगत एक उज्वल नक्षेत्रका रुपमा रहेको उल्लेख गर्दै उहाँले देखाउनु भएको बाटोलाई र उहाँको जीवन मूल्यबाटै पब्लिकेसन्स्ले आफ्नो गतिविधि गर्दे आएको बताउनुभयो । उहाँको विचार, व्यक्तित्वले संस्थालाई सदवै प्रेरित गरिरहने पनि सम्पादक पण्डितको विश्वास रहेको छ ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका अध्यक्ष भगवती तिम्सिनाले स्वतन्त्र र निष्पक्ष भई पत्रकारिता गर्नुपर्ने र त्यस्तो पत्रकारिता समाजका लागि सदैव विश्वसनीय हुने स्वर्गीय पुष्करलाल श्रेष्ठको विचारबाट अनुप्राणित भई पब्लिकेसन्स् र पत्रकारिता चलिरहेको बताउनुभयो। आज मिडिया उद्योग चारैतिरबाट अनेक चुनौती सामना गर्नुपरिरहेको छ । ‘ सरकारले निजी सञ्चारमाध्यमलाई  सरकारी विज्ञापन नदिने भनेको छ । यस्तो पनि कामना पब्लिकेसन्स्का प्रकाशनले निर्भिकतापूर्वक र चिन्तानलिईकन पत्रकारिता गरिरहेको छ ।यसमा स्वर्गीय श्रेष्ठको नैतिकताको बल, उहाँको अँगाल्नुभएको बाटोले हामीलाई अझै मनोबल दिइरहेको छ । ’ अध्यक्ष तिमल्सिनाले भन्नुभयो ‘ आगामी दिनमा सञ्चारकर्मी तथा उनका परिवारका सदस्यहरुको हितका निम्ति विभिन्न कार्यक्रम गर्दै जाने छौं ।’

सो अवसरमा प्रतिष्ठान शाखाका उपाध्यक्ष सुनील महर्जन, कोषाध्यक्ष शारदा गौतम, शिविरका संयोजक कर्ण प्रधानले शिविरको विविध पक्षमा जानकारी दिँदै त्यस कार्यमा प्रत्यक्षपरोक्ष सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

Read more news from News of Nepal

Explore by Source or Category