Sutra News
एमाले छोड्नेहरूको लहर, पूर्व प्रदेश सांसदसहित दर्जनौं नेता नेकपा प्रवेश
काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गर्दै चार दर्जनभन्दा बढी नेता र निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित भव्य कार्यक्रममा मधेश प्रदेशका पूर्वप्रदेशसभा सदस्य, गाउँपालिका पूर्वअध्यक्षदेखि हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि लगायत स्याङ्जा, ओखलढुङ्गा र अन्य जिल्लाका एमाले नेताहरू समावेश थिए।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल ले नवप्रवेशीहरूलाई टीका लगाएर पार्टीमा स्वागत गरे। प्रचण्डले देश संकटमा रहेको बेला राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए र पार्टी प्रवेशले नेकपालाई थप ऊर्जा प्रदान गरेको बताए।
सहसंयोजक माधव नेपालले भने, ‘नेपाली कम्युनिस्ट पार्टीमा सबैलाई सम्मान मिल्छ, पद र अवसरको लागि दबाब दिन आवश्यक छैन।’
नवप्रवेशीहरूमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरि, डा. अन्जु यादव, विन्ध्यवासिनी गाउँपालिका पूर्व प्रमुख श्रीलाल साह कानु, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, लक्ष्मण चौरसिया, हनिफ अन्सारी र राजकुमार गुप्ता रहेका छन्।
त्यस्तै, विन्ध्यवासिनीका पूर्व वडा अध्यक्ष सञ्जय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडा अध्यक्ष प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्व वडा अध्यक्ष रामरेखा सिंह, वडा अध्यक्ष वीरेन्द्र यादव, राधा बैठा, मिना देवी बैठा, पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, स्याङ्जाका एमाले नेता इस्लाम मियाँ र ओखलढुङ्गाका एमाले नेता सिताराम गुरुङ पनि सामेल थिए।