npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

पोखरा विश्वविद्यालयमा ६६२२ विद्यार्थी दीक्षित

राजधानी समाचारदाता 3 hours ago

पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले युवाका लागि स्वदेशमै अवसर विस्तार गर्न राज्य, शैक्षिक संस्था र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएकी छन् । शनिबार पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालय कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले सो कुरामा जोड दिएकी हुन् ।

दीक्षित विद्यार्थीलाई राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले उच्च शिक्षा केवल व्यक्तिगत उन्नतिको माध्यम नभई समाज रूपान्तरणको आधार बन्नुपर्ने धारणा व्यक्त गरिन् । ‘दीक्षान्त शैक्षिक यात्राको अन्त्य मात्र होइन, जिम्मेवारीपूर्ण जीवनको नयाँ चरणको सुरुआत हो, प्रधानमन्त्री कार्कीले भनिन् ।

जेनजी आन्दोलनसँगै युवाले उठाएका आधारभूत सवाल सम्बोधन गर्दै उनले सकारात्मक सोच, अनुशासन र जिम्मेवारीबोधका साथ अघि बढ्न प्रेरित गरिन् । साथै लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन समेत आह्वानसमेत गरिन् ।

समारोहमा विभिन्न संकायअन्तर्गतका ६ हजार ६२२ जना विद्यार्थीहरु दीक्षित भएका छन् । जसमध्ये, व्यवस्थापन संकायका तीन हजार ६२५, विज्ञान तथा प्रविधि संकायका दुई हजार ५०६, स्वास्थ्य विज्ञानका ३६५ र मानविकी तथा सामाजिकशास्त्र संकायका १२६ जना छन् ।

उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीहरु धीरज खड्का, अनुप नेपाल, रविन भट्ट, साधना तिवारी, सृष्टि महर्जन, कमल भटृराई, प्रीति इरिन श्रेष्ठ, श्रेया शर्मा, सुष्मी मिश्रलाई कुलपति पदक प्रदान गरिएको थियो । स्नातक तहमा उत्कृष्ट हुन सफल सिमरन अर्याललाई उपकुलपति पदक प्रदान गरियो । यस्तै, स्नातक तह बिसिए कार्यक्रममा उच्चतम अंक ल्याउने अनीषा सेढार्इंलाई ‘अक्सफोर्ड’ पदक तथा व्यवस्थापन संकायकी दीपिका सुनार बुढाथोकीलाई ‘लक्ष्मी विद्या पदक’ प्रदान गरिएको थियो । समारोहमा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मानित भएका छन् ।

समारोहका प्रमुख अतिथि लैंगिक अधिकार तथा नीति विशेषज्ञ चाँदनी जोशीले विश्वविद्यालयहरुको पठनपाठन ज्ञानको उज्यालो फैलाउँदै समाजको समस्यातर्फ पनि केन्द्रित हुनुपर्ने बताइन् ।

उपकुलपति प्राडा वेदराज केसीले विश्वविद्यालयबाट स्थापनाकालदेखि हालसम्म ७१ हजार २ सय २९ विद्यार्थीहरु दीक्षित भएको र हाल ७४ विभिन्न कार्यक्रममा ३७ हजार ५ सय ९३ अध्ययनरत् बताए । उनले स्वास्थ्य विज्ञान अध्ययन र अनुसन्धान जोड दिँदै १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा रहेको र आगामी दिनमा आयआर्जनमा जोड्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

समारोहमा विश्वविद्यालयमा रजिष्टार प्राडा अजय थापा, व्यवस्थापन संकायका डिन प्राडा ज्ञानेश्वर शर्मा, स्वास्थ्य विज्ञान संकायका डिन प्राडा विष्णुराज तिवारी, मानविकी तथा समाजिकशास्त्र संकायका डिन डा. सुरेन्द्र तिवारी, विज्ञान तथा प्रविधि संकायका डिन इ. बुद्धिराज जोशी आ–आफ्नो संकायको विषयमा जानकारी गराएका थिए ।

पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम २०५४ सालमा पोखरा विश्वविद्यालयको स्थापना भएको हो । यसको केन्द्रीय परिसर पोखरा ३०, ढुंगेपाटनमा सञ्चालित छ । विश्वविद्यालयमा हाल ३७ हजार ५९३ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालय (पाँच आंगिक, तीन संयुक्त आंगिक र ५८ सम्बन्धन प्राप्त) मार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

The post पोखरा विश्वविद्यालयमा ६६२२ विद्यार्थी दीक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category